PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

नवलपुर १ मा कांग्रेसबाट शंशाक र विनोद चौधरी सिफारिस, माओवादी केन्द्रले सिफारिस गर्‍यो प्रचण्डको नाम



पहिलोपोस्ट

नवलपुर १ मा कांग्रेसबाट शंशाक र विनोद चौधरी सिफारिस, माओवादी केन्द्रले सिफारिस गर्‍यो प्रचण्डको नाम

काठमाडौं : मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छन्। दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशांक कोइराला र उद्योगपति विनोद चौधरीसहित ६ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ।

कांग्रेसबाट कोइराला र चौधरीसहित हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रिय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताए।

जिल्लाको क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक कोइरालालाई नै मैदानमा उतार्ने सम्भावना रहेको स्थानीय नेता बताउँछन्। कोइरालासँगै अर्का केन्द्रीय सदस्य एवं उद्योगपति चौधरीले क्षेत्र नम्बर २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन पहल भइरहेको समेत जनाइएको छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो क्षेत्रका लागि सिफारिस गरेको छ। प्रचण्डसहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताए।

नेकपा (एमाले)ले यो क्षेत्रबाट केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्षतर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell