PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नयाँ कप्तानको नेतृत्वमा मैदानमा उत्रिँदै नेपाल, 'महिला साफ च्याम्पियन'को उपाधि जोगाउला भारतले ?



मुकुन्द घिमिरे

नयाँ कप्तानको नेतृत्वमा मैदानमा उत्रिँदै नेपाल, 'महिला साफ च्याम्पियन'को उपाधि जोगाउला भारतले ?

काठमाडौं : मंगलवारबाट साफ महिला च्याम्पियनसीप सुरु हुँदैछ। नेपाली टोलीको नियमित कप्तान रेनुका नगरकोटी घाइते हुँदा यसपाला नेपाली टोलीको नयाँ कप्तान बनेकी छिन् गोलकिपर एन्जिला तोम्बाफो सुब्बा। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)बाट खेल्ने सुब्बाले कप्तान बन्ने अवसर पाएकोमा खुशी भएको भन्दै आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता जनाइन्।

प्रतियोगिताअघिको प्रि-म्याच कन्फ्रेन्समा उनले भनिन्, 'कप्तानी पाउने इच्छा सबैको हुन्छ। मलाई आफूलाई प्रमाणित गर्ने अवसर छ। म शतप्रतिशत दिन्छु। म बोलेर भन्दा पनि मैदानमा टिमसँग प्रमाणित गर्न चाहन्छु। कप्तानीको जिम्मेवारी दिनुभएकोमा खुशी छु। लक्ष्य च्याम्पियन बन्ने भन्ने हो। मैदानमा अन्तिमसम्म लड्नेछौं।'

यस्तै, प्रशिक्षक कुमार थापाले टोलीका २३ जनानै खेलाडी कप्तान भएको भन्दै अनुभवको आधारमा तोम्बाफोलाई जिम्मेवारी दिएको बताए।

घरेलु मैदान प्रतियोगिता तर अनुभव छैन

घरेलु मैदानमा खेल्न पाउनुको धेरै अर्थ हुन्छ। अभ्यास गरेको, स्टेडियमको वातावरणबारे जानकरी भएको र समर्थकको साथ हुँदा अर्कै रवाफ हुन्छ। तर, समर्थकको साथ हुने भए पनि खेलाडीले रंगशालामा भिज्ने मौका भने पाएका छैन। अर्थात, दशरथ रंगशालामा भोलि प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीका लागि त्यहाँको ग्राउन्ड नौलो हुनेछ।

प्रशिक्षक थापाकै भनाइलाई आधार मान्ने हो भने पनि नेपालले भोलि खेल्दा घरेलु मैदानमै डेब्यु गर्ने खेलाडीको संख्या ठूलो हुन आउँछ। मैत्रीपूर्ण खेल खेले पनि नेपाली टोलीले घरेलु मैदानमा प्रतियोगिता भने खेलेको छैन।

'घरेलु मैदान भने पनि ३ वटा सेसनमात्र दशरथ रंगशालामा भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलयता रंगशालामा खेलेको छैन,' प्रशिक्षक थापाले भने।

पाकिस्तानलाई स्वागत

साफ च्याम्पियनसीपबाट पाकिस्तानी टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेको छ। प्रि-म्याच कन्फ्रेन्समा अन्य देशका प्रशिक्षकहरुले पाकिस्तानको स्वागत गरे। पछिल्लो समय विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध व्यहोरेर फुकुवा भएको पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रँदैछ। पाकिस्तान टोलीकी कप्तान मारिया खानले ६ हप्ताको तयारी गरेको र मैदान उत्रन उत्साहित रहेको बताइन्।

'टिम सकारात्मक छ। राम्रो फुटबल खेलेर अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कन चाहन्छौं,' उनले भनिन्।

पाकिस्तान प्रतिबन्धबाट फुकुवा भएपछि दोहोरो नागरिकता भएका खेलाडीलाई पनि राष्ट्रिय टिमबाट खेल्न दिने नियम लागु गर्‍यो। जसका कारण यूएई, इङ्ग्ल्याण्ड लगायतका देशका लिगमा खेलिरहेका खेलाडी अहिले पाकिस्तानी टोलीमा छन्।

'खेलाडी भेला गरेर टिम बनाउन चुनौती पूर्ण थियो। फेडेरेसनले यसमा राम्ररी समन्वय गर्‍यो। त्यसैले छोटो समयमै यतिधेरै काम हुन सक्यो,' पाकिस्तानी टोलीका प्रशिक्षक अदिल रिजकीले बताए।

प्रतिबन्ध बिर्सन चाहन्छ भारत

भारतीय टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले फिफाले लगाएको प्रतिबन्धबारे बिर्सन चाहेको बताए। आफूहरु प्रतियोगिताका लागि तयार भएको भन्दै उनले भने, 'हामी यहाँ छौं, खुसी छौं।'

भारतीय टोलीका केही सदस्यहरु बाहिर लिगमै छन्। यसले टिमको प्रदर्शनलाई केही प्रभाव पार्ने भए पनि आफूहरु तयारी रहेको उनले बताए। महिला साफ च्याम्पियनसीपको सबै संस्करणको भारत विजेता हो। हालसम्म एउटा खेलमा बराबरी बाहेक बाँकी सबै खेलमा भारतले जित निकालेको छ।

'च्याम्पियनको उपाधिलाई कायम गरिरहन कठिन छ तर हामी तयार छौं,' उनले भने।

त्यस्तै, भारतीय टोलीकी कप्तान असलता देवीले छोटो तयारी भए पनि आफूहरु तयार भएको बताइन्।

'जे भयो (प्रतिबन्ध) बिर्सिएर अघि बढेका छौं। हामी तयार छौं,' उनले भनिन्, 'हामीसँग समय थिएन। फोकस भने थियो। दक्षिण एसियामा यो प्रतियोगितालाई ठूलो मानिन्छ। चुनौतीका लागि तयार छौं।'

अरु टिमको तयारी के?

नेपाल र भारतसँगै उपाधिमा नजर घुमाएको अर्को टोली हो बंगलादेश। पछिल्लो समय युवा टोलीमा दबदबा बनाउँदै आएको बंगलादेशले चुनौती बढाउन लक्ष्य लिएको छ। पहिलाको साफमा जुनियर खेलाडीको बाहुल्यता भएको भए पनि अहिले खेलाडीको राम्रो 'कम्बिनेसन' भएको प्रशिक्षक गोलाम रब्बबी छोटून बताउँछन्।

त्यस्तै, अर्को टोली भुटानले राम्रो प्रदर्शनको अपेक्षा लिएको त्यहाँका प्रशिक्षकले बताइन्। त्यस्तै माल्दिभ्सले अनुभवी र नयाँ खेलाडीको राम्रो 'कम्बिनेसन' ल्याएकाले राम्रो नतिजा ल्याउने विश्वास लिएको छ। माल्दिभ्स रहेको समूहमा भारत, पाकिस्तान र बंगलादेश रहेकाले यो समूहलाई उनीहरुले 'ग्रुपअफ डेथ'का रुपमा लिएका छन्।

त्यस्तै भर्खरै आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाका खेलाडी अधिकांश राजधानीबाट बाहिर भएकाले यातायातको असुविधाका कारण तयारीमा प्रभाव परेको बताउँछन् टोलीका प्रशिक्षक रतनाम जुसमिन।

मंगलवारबाट प्रतियोगिता, टिकट शुल्क कति?

प्रतियोगिता मंगलवारबाट दशरथ रंगशालामा सुरु भएर असोज ३ मा सम्पन्न हुनेछ। प्रतियोगिताका लागि एन्फाले ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। जसमध्ये सहभागी टिमहरुको र म्याच अफिसियलहरुको खानपिन तथा बसोबास खर्च साफले ब्यहोर्ने तथा खेल मैदान तयारी, स्थानीय यातायत र अन्य खर्च एन्फाले ब्यहोर्ने छ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। 'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन्। प्रत्येक समूहबाट प्रथम र द्वितिय हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन्।

टिकटमा साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ शुल्क तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell