PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड



पहिलोपोस्ट

दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबिच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका दाहालले गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए।

'गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ', दाहालले भने, 'कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ। त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुंगो लगाउँछौं।'

'अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो। त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ', दाहालले थप भने, 'त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ। हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौं।'

गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी दाहालले गरे। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरेका छन्।

'संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ', दाहालले भने, 'दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन। त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौं।'

यसैबिच, नेकपा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ। जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), नेताहरु मात्रिका प्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell