
लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन्। कन्जर्भेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि ट्रस प्रधानमन्त्री बन्ने पक्का भएको हो। भारतीय मूलका ऋषि सुनकलाई पार्टीमा भएको आन्तरिक निर्वाचनमा पराजित गर्दै ट्रस अब डाउननिङ स्ट्रिट भित्रिँदैछिन्।
बीबीसीका अनुसार निर्वाचनमा ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् भने ऋषिले ६० हजार ३९९ मत प्राप्त गरे। यसअघि भएको चरणवद्ध निर्वाचनमा भने ऋषिले अग्रता लिएका थिए। ऋषि पराजित हुनुमा उनी भारतीय मूलको भएको कारण पनि एक भएको विश्लेषण गरिएको छ।
मंगलवार ट्रसले बेलायती महारानी एलिजाबेथबाट सपथ लिनेछिन्। आज बोरिस जोनसनले प्रधानमन्त्रीका रुपमा अन्तिम दिन काम गरे।
आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।