काठमाडौं: नेपालले केन्यासँगको एकदिवसीय अभ्यास सिरिज क्लिन स्वीप गरेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले केन्यालाई हराएसँगै तिन खेलको सिरिज क्लिनस्वीप गरेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाउँदा सुकदीप सिंहले ३७ रन बनाएका थिए। त्यस्तै, लुकास एनडनसनले अविजित ५९ रन बनाउँदा इम्यानुअल बुण्डीले २३ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २ विकेट लिँदा वसीर अहमेद र शाहब आलमले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि तीन जना ब्याट्सम्यानले अर्धशतकीय पारि खेले। ओपनर अर्जुन साउदले सर्वाधिक ५८ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले ५६ रन बनाए। त्यस्तै बसीर अहमद ५२ रनामा अविजित रहँदा कप्तान रोहितकुमार पौडेल ४६ रनमा अविजित रहे। त्यसअघि ज्ञानेन्द्र मल्लले ३३ तथा देव खनालले १ रन बनाउँदै आउट भएका थिए।
यसअघि सिरिजको पहिलो खेलमा ७ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा १७ रनको जित निकालेको थियो।