PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

संसदको कार्यकालबारे कांग्रेसभित्रै तीनथरि मतः एमाले मनोनयनको अघिल्लो दिनको पक्षमा, कसको संशोधन के?



पहिलोपोस्ट

संसदको कार्यकालबारे कांग्रेसभित्रै तीनथरि मतः एमाले मनोनयनको अघिल्लो दिनको पक्षमा, कसको संशोधन के?

काठमाडौंः प्रतिनिधि सभाको कार्यकाल समेटिएको केही नेपाल ऐन संशोधन विधेयकमा ११ संशोधन प्रस्ताव दर्ता भएका छन्। संशोधनमध्ये सात वटा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका छन्। यस्तै नेपाद मजदुर किसान पार्टीको एक र कांग्रेसका तर्फबाट तीन संशोधन प्रस्ताव दर्ता भएका छन्। 

प्रतिनिधि सभाले संशोधन हाल्न पाउने समय ७२ घन्टालाई २४ घन्टा बनाएको थियो। उक्त समयसीमा सकिएको छ। 

प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल निर्वाचनको मनोनयनको अघिल्लो दिनसम्म मान्न प्रस्ताव गरेको छ। समानुपातिक बन्दसूचीलाई मनोनयन मान्ने एमालेको प्रस्ताव छ। कार्यकालको गणना भने शपको मितिबाट हुने एमालेका सांसदहरुको प्रस्तावमा उल्लेख छ। 

एमालेबाट गोकुल बास्कोटा, शेरबहादुर तामाङ, विन्दा पाण्डे, विशाल भट्टराई लगायतको संशोधन दर्ता भएको छ। 

कांग्रेसमा तीनथरि मत
सत्तारुढ दल नेपाली कांग्रेसमा भने कार्यकालको विषयमा तीनथरि धारणा छ। 

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार कानुन मन्त्रीले दिएको निर्देशन अनुसार प्रकाश रसाइलीसमेतको संयुक्त संशोधन परेको छ। उक्त संशोधनमा केही नेपाल ऐन संशोधन विेधयकमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था पूरै हटाउन प्रस्ताव गरिएको छ। 

विधेयकको दफा १४ र १५ हटाउन उक्त संशोधनमा माग गरिएको छ। 

यस्तै, सांसद गगन थापाको तर्फबाट पनि कार्यकालमा संशोधन दर्ता भएको छ। थापाको संशोधनमा कार्यकाल मनोनयनको अघिल्लो दिनलाई कामय गर्न प्रस्ताव गरिएको छ। थापाको संशोधन प्रतिपक्ष दल एमाले सांसदहरुसँग मिल्दो छ। 

यस्तै, कांग्रेसकै अतहर कमाल मुसलमानले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन्। मुसलमानको प्रस्ताव सरकारले ल्याएको मूल विधेयकमा समर्थनसहित थप व्याख्या गरिएको छ। उनले कार्यकाल निर्वाचित भएर आएको सभाको पहिलो बैठकसम्म मान्ने तर सुविधा मनोनयन दर्तापछि नपाउनेगरि संशोधन प्रस्ताव राखेका छन्। 

केही नेपाल ऐन संशोधन विधेयक मंगलबार नै प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ। निर्वाचनसँग सम्बन्धित दुईसँगै १८ विधेयक सरकारले एकैपटक संशोधन गर्दैछ। दीर्घकालीन महत्वका विषय जोडिएका सम्पत्ति शुद्धीकरण, मुलुकी अपराध संहितालगायतमा पनि सरकारले संशोधन गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell