PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै



पहिलोपोस्ट

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह 'ए' मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह 'बी' मा भारत, बंगलादेश र पाकिस्तान छन्। प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन्।

टिकट शुल्क कति?

प्रतियोगिता आजबाट सुरु भएर असोज ३ मा सम्पन्न हुनेछ। प्रतियोगिताका लागि एन्फाले ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। जसमध्ये सहभागी टिमहरुको र म्याच अफिसियलहरुको खानपिन तथा बसोबास खर्च साफले ब्यहोर्ने तथा खेल मैदान तयारी, स्थानीय यातायत र अन्य खर्च एन्फाले ब्यहोर्ने छ।

टिकटमा साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

घरेलु मैदानमा खेल र नयाँ कप्तान

घरेलु मैदानमा खेल्न गइरहेको नेपालले नयाँ कप्तान पाएको छ। नेपाली टोलीको नियमित कप्तान रेनुका नगरकोटी घाइते हुँदा यसपाला नेपाली टोलीको नयाँ कप्तान बनेकी छिन् गोलकिपर एन्जिला तोम्बाफो सुब्बा।

घरेलु मैदानमा खेल्न पाउनुको धेरै अर्थ हुन्छ। अभ्यास गरेको, स्टेडियमको वातावरणबारे जानकारी भएको र समर्थकको साथ हुँदा अर्कै रवाफ हुन्छ। तर, समर्थकको साथ हुने भए पनि खेलाडीले रंगशालामा भिज्ने मौका भने पाएका छैन। अर्थात्, दशरथ रंगशालामा भोलि प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीका लागि त्यहाँको ग्राउन्ड नौलो हुनेछ।

प्रशिक्षक थापाकै भनाइलाई आधार मान्ने हो भने पनि नेपालले भोलि खेल्दा घरेलु मैदानमै डेब्यु गर्ने खेलाडीको संख्या ठूलो हुन आउँछ। मैत्रीपूर्ण खेल खेले पनि नेपाली टोलीले घरेलु मैदानमा प्रतियोगिता भने खेलेको छैन।

'घरेलु मैदान भने पनि ३ वटा सेसनमात्र दशरथ रंगशालामा भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलयता रंगशालामा खेलेको छैन,' प्रशिक्षक थापाले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए।

नेपाल भर्सेस भुटान

एकपटकबाहेक सबै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल यो प्रतियोगिताको बलियो टोलीमध्येको एक हो। अर्कोतर्फ प्रतियोगितामा भुटानले उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन। पछिल्लो समय घरेलु फुटबलमा राम्रो सुधार गर्दै आएको भुटानको टिमलाई पनि कमजोर आँक्न नहुने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताए।

'हामी कसैसँग रिभेन्ज लिने, कसैलाई कमजोर आँक्ने भन्ने सोच राख्दैनौं,' प्रशिक्षक थापाले भनेका थिए।

त्यस्तै भुटानी टोलीकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताको राम्रो तयारी गरेको बताउँदै घरेलु टोलीसँग सहज नहुने बताइन्। उनले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यता भएको बताउँदै अन्य घरेलु लिगपछि टिम बनाएको बताइन्। भुटान प्रतियोगिताभन्दा करिब दुई हप्ताअघि नेपाल आएर अभ्यास गरेको थियो भने केही क्लबसँग अभ्यास खेल खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell