
काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दल अधिनायकवादविरुद्ध एक ठाउँमा उभिएको बताएका छन्। मंगलवार बिहान सञ्चार मन्त्रालयमा प्रेस युनियनका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई बधाई दिँदै सञ्चारमन्त्री कार्कीले उक्त भनाई राखेका हुन्।
कार्यक्रममा मन्त्री कार्कीले मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिडाउँन गठबन्धन जरुरी रहेको बताए। 'हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो। मुलुकलाई राजनीतिक स्थिरता र आन्तरिक एकता आवश्यकता छ। राज्य व्यवस्था ट्र्याक बाहिर गएकोले अधिनायकवादविरुद्ध गठबन्धन हामी एक ठाउँमा उभिएका छौं। अरु कसैको खिलाफमा हैन,' मन्त्री कार्कीले भने।
उनले मंसिर ४ गते स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेकोसमेत बताए।
मन्त्री कार्कीले प्रेस स्वतन्त्रमा नेपाललाई दक्षिण एसियाकै नमुना देश बनाउने चाहना कांग्रेसको भएको बताए। 'संस्था बलियो भए लोकतन्त्र बलियो हुन्छ। प्रेस युनियन बलियो भए लोकतन्त्र बलियो हुन्छ नै। सबै पत्रकारलाई मन्त्रालयलाई समान व्यवहार गर्छ,' मन्त्री कार्कीले भने, 'दक्षिण एसियामै प्रेस स्वतन्त्रतामा नेपाललाई नमुना बनाउने हाम्रो चाहना छ।'
सिट बाँडफाँट न्यायोचित ढंगले हुने मन्त्री कार्कीको भनाई थियो। कार्क्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ट्रेड युनियन आन्दोलनमा सरकारको साथ आवश्यक रहेको बताएका थिए।