PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

देउवा क्याबिनेटमा राप्रपाबाट मन्त्री बनेका विष्णुविक्रम, अहिले कांग्रेसबाट उम्मेदवारका लागि दोहोरो नाम सिफारिस



पहिलोपोस्ट

देउवा क्याबिनेटमा राप्रपाबाट मन्त्री बनेका विष्णुविक्रम, अहिले कांग्रेसबाट उम्मेदवारका लागि दोहोरो नाम सिफारिस

  • फूलमान तामाङ-

चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले विष्णुविक्रम थापालाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि सिफारिस गरेको छ। प्रतिनिधि सभातर्फ सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका उनी क्षेत्र २ को क तर्फ पनि पहिलो नम्बरमा छन्। उनलाई प्रदेशसभा क कार्यसमितिले प्रदेश सदस्यको लागि सिफारिस गर्दा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो। यही सिफारिसलाई सदर गर्दै जिल्ला कार्यसमितिले प्रदेश सभा र प्रतिनिधि सभा दुवैतिर उनको नाम प्रदेश कार्यसमितिलाई सिफारिस पठाइसकेको छ।

विष्णुविक्रम उनै नेता हुन् जसले सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईमा एमालेको किल्ला भत्काएका थिए। २०४८ मा एमालेका कृष्णलाल श्रेष्ठले जित निकालेको यस क्षेत्रमा २०५१ कात्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा थापा संसदमा निर्वाचित भए। त्यतिबेला थापा राप्रपा सिन्धुपाल्चोकको जिल्ला कोषाध्यक्ष थिए। आफू कोषाध्यक्ष भएको र पार्टी निर्माण र संगठनमा जागरुक भएको र गाउँमै बसेर संगठन बनाएर हिँडेकोले संसदमा निर्वाचित भएको उनको भनाइ छ। थापाले १४,८९३ मत ल्याउँदा एमालेका सुभाष कर्माचार्य ले १० हजार मत पाए भने कांग्रेसबाट विनोद मोक्तानले ७ हजार मत ल्याए।

निर्वाचित भएपछि मनमहोन अधिकारीको नेतृत्वमा बनेको ९ महिने एमाले सरकार ढल्यो र त्यतिबेलाका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो। त्यतिबेला राप्रपाको २० सिट भएकाले राप्रपाको सहयोगमा देउवा प्रधानमन्त्री बने। उक्त क्याबिनेटमा थापा वाणिज्य सहायकमन्त्री, भौतिक तथा आवास योजना मन्त्री, गृहराज्यमन्त्री हुँदै कृषिराज्यमन्त्री समेत बने। राप्रपामा हुँदा थापा आमन्त्रित सदस्य हुँदै दुइपटक केन्द्रीय सदस्यमा निर्वाचित भए भने केन्द्रीय सहायक महामन्त्रीसमेत बने। त्यति बेला सिन्धुपाल्चोकमा ३ क्षेत्र थियो। क्षेत्र १ र २ एमालेको पकड भए पनि क्षेत्र ३ मा राप्रपाका पशुपति शम्शेरको बलियो पकड थियो। २०७४ को निर्वाचनपछि सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र कायम भयो।

यो क्षेत्रमा माओवादी, एमाले र राप्रपाले पटकपटक जित निकाले पनि सत्ता गठबन्धनको मुख्य दल कांग्रेसले जित निकाल्न सकेको छैन। रोचक पक्ष राप्रपाबाट निर्वाचित भएका थापा २०७६ साउन १३ गते सुनिलबहादुर थापाको नेतृत्वमा कांग्रेस प्रवेश गरेका हुन्। कांग्रेस प्रवेशलगत्तै केन्द्रीय सदस्य बनेका थापा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत निकट मानिने उनको नाम दुवैतिर सिफारिस गरे पनि थापा भने आफू प्रतिनिधि सभामामै लड्ने बताउँछन्।

राप्रपाबाटै थापा २०५६ सालमा पनि उम्मेदवार बनेका उनलाई त्यतिबेला आफ्नै पार्टीका नेता पशुपति शमशेर नै हराउन लागि परेका थिए। शम्शेर त्यतिबेला पार्टीमा महामन्त्री थिए उनी त्यतिबेला यसै निर्वाचन क्षेत्रमा लड्न चाहेको र थापाले नछाडेपछि एमालेका सुभाष कर्माचार्यलाई सहयोग गरेर चुनाव जिताएको राप्रपाका स्थानीय नेताहरुको आरोप छ। थापा २०७० सालमा पनि राप्रपाबाटै यसै निर्वाचन क्षेत्रमा होमिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell