PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकप हेर्न नेपालबाट २०० जनाभन्दा बढीले गरे बुकिङ, राष्ट्र बैंकको कडाइले घट्यो खेल हेर्न जानेको संख्या



पहिलोपोस्ट

विश्वकप हेर्न नेपालबाट २०० जनाभन्दा बढीले गरे बुकिङ, राष्ट्र बैंकको कडाइले घट्यो खेल हेर्न जानेको संख्या
Poster : FIFA

काठमाडौं : आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।

विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। विश्वकप फुटबल प्रतियोगिता हेर्न चाहने दुई सय जनाभन्दा बढीले जान बुकिङ गरिसकेको कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहले बताइन्।

यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई उपलब्ध गराउने टिकटमार्फत विश्वकप हेर्न जानेहरुको संख्या भने यकिन भइसकेको छैन। फिफाले एन्फासँगै कोकाकोला, बर्डवाइजर, सोनी, हुण्डाई, एडिडासजस्ता स्पोन्सर कम्पनीहरुका लागि पनि टिकट कोटा छुट्याउने गर्छ। यी कम्पनीमार्फत पनि विश्वकप हेर्न नेपालीहरु कतार जानेछन्।

सरकारले पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने गरी कार्यविधि जारी गरेको अवस्थामा २ सय जनाभन्दा बढीले विश्वकप हेर्न जाने तय हुनु उत्साहको कुरा भएको शाहले बताइन्। कोभिड-१९ ले थलिएको ट्राभल उद्योगका लागि विश्वकपको समयले केही आशाको संचार गरेको उनको भनाइ छ।

विश्वकप फुटबल हेर्न जानका लागि टिकट बुकिङ गराउनेहरु तीन प्रकारका छन्। विभिन्न कर्पोरेट घराना, साथीभाई टोली मिलेर जाने युवा र व्यक्तिगतरूपमा गएर कतारमा आफन्तकहाँ बसेर विश्वकप हेरेर फर्कने योजना बनाएकाहरुले टिकट लिएको प्रबन्ध निर्देशक शाहले बताइन्।

कम्पनीले ३ सयदेखि पाँच सय जनासम्मलाई विश्वकप देखाउन लैजाने योजना बनाएको थियो। टुरिस्ट भिसामा नेपालीलाई बाहिर जान निरुत्साहित गर्ने सरकारी नीति तथा राष्ट्र बैंकको विदेशी मुद्रामा गरेको कडाइले कर्पोरेटस्तरमै दुई सय जतिको संख्या गुमाएको मिहिकाले सुनाइन्।

उनका अनुसार फिफालाई टिकट बापतको पैसा पठाउनुपर्ने र यसका लागि राष्ट्र बैंकलाई सुरुमै जानेहरुको सूची बुझाउनुपर्ने प्रावधानले गर्दा  २ सय जति ग्राहक घटेका छन्।

‘डलरको सर्टेजको बेला पर्‍यो। फेरि राष्ट्र बैंकसँग अनुमित लिएर सबै काम गर्दा पहिल्यै नाम दिनुपर्छ भनिएको थियो। अहिल्यै सबै सूची बुझाउनुपर्ने हुँदा कतिपय कर्पोरेट ग्राहकको समय तय हुन सकिरहेको थिएन। यसका कारण हामीले २ सयजति कर्पोरेट ग्राहक गुमाएका हौं,’ मिहिकाले भनिन्।

कर्पोरेट लेभलमा ट्राभल प्याकेज गरिरहेको जेनिथले कोभिड-१९ महामारी पछि विभिन्न देशमा कर्पोरेट प्याकेजसमेत ल्याएको थियो।

हालको अवस्थामा हवाई भाडा दर महँगो भएका कारण भनेजस्तो प्याकेज गर्न नपाइरहेको अवस्थामा विश्वकपको प्याकेजले भने केही राहत दिएको प्रबन्ध निर्देशक शाहको भनाइ छ। यसअघि दशैँमा विदेश जानेहरुबाट प्याकेजको माग धेरै आउने भए पनि यसपटक प्याकेज नभएको पनि मिहिकाले जानकारी दिइन्।

विदेश घुम्न जाने व्यक्तिहरुका लागि कडा प्रावधान तय गर्दै हालै कार्यविधि जारी गरेकाले पनि आगामी दिनमा ट्राभल प्याकेजहरु अझ प्रभावित हुने उनले बताइन्।

कतारले यस वर्ष विश्वकप प्रतियोगितामा विश्वभरबाट १२ देखि १५ लाख भन्दा बढी मानिस भित्र्याउने लक्ष्य राखेको छ। एक दशकभन्दा अघिदेखि प्रतियोगिताको पूर्वाधार तयार गरिरहेको कतारमा ८ वटा अत्याधुनिक रंगशालाहरु तयार भइसकेका छन्। खेल हुने मुख्य रंगशाला लुसेल स्टेडियम ८० हजार दर्शक क्षमताको छ।

२१ नोभेम्बरदेखि २८ दिन चल्ने प्रतियोगितामा ६४ खेल हुनेछन्। ३२ टिम सहभागिता रहने छ।   

४-४ वर्षको अन्तरालमा हुने विश्वकप फुटबल संसारमा सबैभन्दा ठूलो खेल उत्सवका रुपमा लिइन्छ। कोभिड महामारीपछि विश्वभर यात्रा तथा विभिन्न पर्यटकीय गतिविधिहरु न्यून भएको अवस्थामा यस प्रतियोगिताबाट पर्यटन गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतियोगिता हेर्न धेरैभन्दा धेरै दर्शक भित्र्याउन कतारले होटलहरु तयार राखेको छ। करिब १५ लाखको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताका दौरान आवश्यक सबै पर्यटकीय पूर्वाधारसमेत तयार भइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतियोगिताका लागि हालसम्म २४ लाख टिकट बेचिसकेको फिफाले जनाएको छ। फिफाका अनुसार सबैभन्दा धेरै टिकट ग्रुप स्टेज म्याचहरुका लागि बिक्री भएको छ।

क्यामरुन र ब्राजिल, ब्राजिल र सर्बिया, पोर्चुगल र उरुग्वे, कोस्टारिका र जर्मनीको म्याच हेर्न धेरै टिकट बिक्री भएका छन्। यसैगरी, अस्ट्रेलिया र डेनमार्कका लागि पनि धेरै टिकट बिक्री भएका छन्।

फिफाका अनुसार कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, यूएई, बेलायत, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियाका नागरिकले सबैभन्दा धेरै टिकट किनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell