काठमाडौं : अहिले नेपाली सिनाेमा हलमा तीनवटा नेपाली फिल्म चलिरहेको छ। हलहरुमा राम्रै व्यापार गरिरहेको यी फिल्महरुबिच अर्को एउटा फिल्म पनि अहिले चर्चामा छ। त्यो हो ‘ऐना झ्यालको पुतली’।
सोमवार यही फिल्मको ‘ग्र्यान्ड प्रिमियर’ गरिएको थियो। फिल्मको प्रिमियरपछि ‘ऐना झ्यालको पुतली’लाई कलाकार, नेता तथा साहित्यकारले सकारात्मक प्रतिक्रिया दिए। फिल्मको प्रिमियरमा नेतादेखि कलाकारहरुको राम्रै उपस्थिति थियो। धेरैले फिल्म हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका थिए।
फिल्म हेर्न नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त पनि पुगेका थिए। पन्तले पहिलोपटकले पहिलोपटक यो फिल्म हेर्दा धित नमरेर दोस्रो पटक फिल्म हेर्न आएको बताएका थिए। उनले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए।
‘यो नेपाली टेस्टको अर्गानिक कथा हो। नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ उनले भने।
प्रिमियरमा पुगेकी गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताइन्। यो फिल्म नेपालभरिका स्कुलमा देखाउन उनले आग्रह गर्दै भनिन्, ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो। यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ। यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो।’
साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिए। फिल्म हेर्दा आफूलाई डेढघन्टा मौन साधना गरेको महसुस भएको उनले सुनाए। भने, ‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा वीरलै देखेको थिएँ या सायद देखेकै थिइनँ। यो सिनेमाले पीडाभन्दा पनि तपाईं हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दोरहेछ। सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइदिएको छ। यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो।’
नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताए। निर्देशक दीपेन्द्र लामाले पनि ‘मुकुण्डो’ र ‘नुमाफुङ’ पछि झण्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको फेसबुकमा उल्लेख गरेका छन्।
दीपक राज गिरी, दीपाश्री निरौला, केकीअधिकारी र प्रकाश सपुत लगायतका कलाकारहरुले समेत फिल्मको प्रशंसा गर्दै फिल्म हेर्दा आफूहरू बाल्यकालमा फर्किएको बताए।
आउँदो शुक्रवार प्रदर्शन हुने यस फिल्ममा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ। यस फिल्मलाई सुजितसहित आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल मिलेर निर्माण गरेका हुन्। फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सिरुबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्।