PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

राष्ट्रियसभामा शून्य समय : पर्यटन मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग



पहिलोपोस्ट

 राष्ट्रियसभामा शून्य समय : पर्यटन मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

काठमाडौं  : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छिन्। मंगलवार राष्ट्रियसभाको बैठकमा शून्य समयमा पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डले रोक्दा पक्राउ प्रकरणबारे प्रश्न उठाएकी हुन्।

उनले मन्त्रीको व्यवहार अस्वीकार्य भएको भन्दै जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरु जनताको शासक नभई सेवक हुनुपर्ने बताएकी हुन्।

‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन्। शासन होइनन्। दुईदिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानविय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ,' उनले भनिन्। 

यस्तै, राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरुलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरुलाई आग्रह गरिन्। 'नेपालको संविधानले समानुपातिक, समावेशीको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने भनेको छ। संविधानको मर्म र भावनालाई ध्यानमा राखि प्रत्यक्षतर्फ अत्याधिक महिलालाई उम्मेदवारी दिन सबै राजनीतिक दलहरुलाई सम्मानित सभाको माध्यमबाट अनुरोध गर्न चाहन्छु,' उनले भनिन्।

साथै, डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई उनले आग्रह गरेकी छिन्। 

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरुको सेवा, सुविधा र पारिश्रमिक उनीहरुको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गरेकी छिन्। उनले शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छिन्। राष्ट्रियसभा सदस्य नन्दा चपाईँले भने सवारी साधनहरु अव्यवस्थित रुपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले यसका निम्ति आवश्यक कानून निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell