PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो



पहिलोपोस्ट

अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

काठमाडौं : अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन्। त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ। तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागु औषध गाँजा भेटिएको छ।

सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले जानकारी दिए। प्रहरीले उक्त पार्सल प्रकरणमा तीन जना युवालाई नियन्त्रणमा लिएको छ।

‘हुलाकमार्फत लागुऔषधको कारोबार भएको भन्ने जानकारी आएको थियो। त्यही क्रममा अनुसन्धान गर्दा अमेरिकाबाट आएको एउटा पार्सलमा गाँजा भेटिएको हो,’ एसएसपी खनालले भने।

प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए।

पार्सल अमेरिकाको क्यालिफोर्नियाबाट आएको खुलेको छ। तर, पार्सल कसले पठाएको हो? कसलाई दिने भन्ने अनुसन्धानमा नखुलिसकेको एसएसपी खनालले बताए।

त्यसो त क्यानडाबाट पनि यसअघि यस्तै प्रकृतिको पार्सलमा गाँजा आएको थियो। लागुऔषध गाँजा नेपालमा पनि उत्पादन हुन्छ। हिमाली क्षेत्रको गाँजा सेवनकर्ताले महँगो मूल्य तिरेर किन्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ। तर, अमेरिकाबाट नै पार्सल गरेर गाँजा किन पठाए भन्ने खुल्न सकेको छैन।

‘यो अलिक राम्रो गुणस्तरको गाँजा मानिन्छ। तर, किन र कसको लागि पठाइएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ,’ लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी खनालले भने। नेपालमा लागुऔषध गाँजाको मूल्य प्रतिकिलो ४० हजार रुपैयाँसम्म पर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell