PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?



पहिलोपोस्ट

फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?

काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी असोज ७ गते रिलिज हुँदैछ। हिन्दी भाषामा समेत रिलिज हुन लागेको यस फिल्मको नेपालसहित भारतमा पनि चर्चा छ।

यसैबिच, ‘द कपिल शर्मा शो’ मा नेपाली फिल्म ‘प्रेमगीत ३’ को टिम जाने चर्चा चलेको छ। सामाजिक संजाल र युटयबमा प्रदीप र कपिल शर्माको तस्विर जोडेर भिडियो र तस्विर सेयर भइरहेका छन्। तर, हालसम्म प्रेमगीत ३ कपिल शर्मा शोमा जाने ‘कन्फर्म’ भइसकेको छैन।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन ‘द कपिल शर्मा शो’मा फिल्मको टिम सहभागी हुने कुरा चलेको स्वीकार्छन्। तर, शोमा जाने पक्का भइनसकेको उनले जानकारी दिए।

‘कपिल शर्मा शोमा जाने कुरा भए पनि फिक्स हुन सकेको छैन। थुप्रै फिल्मले बुक गरिसकेका कारण शोको सेड्युल निकै प्याक रैछ। यदि अलि पछि रिलिज हुने फिल्मले हामीलाई स्थान दिनुभयो भने जाने योजना छ,’ उनले भने।

उक्त कार्यक्रममा ‘प्रेमगीत’को तर्फबाट मनिषा कोइराला र गोविन्दालाई समेत सहभागी हुन प्रस्ताव गरिएको सेनले सुनाए। भन्छन्, ‘हामीहरू पहिलोपटक भारतीय फिल्म उद्योगमा जाँदै छौँ। जसकारण सबैले हामीलाई नचिन्न सक्छन्। फिल्मको टिम मात्रै जाँदा रिच नहोला भनेर गोविन्दा जी र मनिषा दिदीलाई प्रस्ताव राखेका छौँ। उहाँहरू पनि जान तयार हुनुहुन्छ।’

स्वर्गीय छेतन गुरुङ र सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीपका साथै क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

कपिल शर्मा शो हाल ब्रेकमा छ। केही दिनमा नै यो शोको नयाँ सिजन सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell