PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

मोबाइल, घडी र गितार ‘डिक’ राखेर लागुऔषधको लत मेट्दै दुर्व्यसनकर्ता, दाजुबहिनी नै ड्रग्सको कारोबारमा संलग्न



पहिलोपोस्ट

मोबाइल, घडी र गितार ‘डिक’ राखेर लागुऔषधको लत मेट्दै दुर्व्यसनकर्ता, दाजुबहिनी नै ड्रग्सको कारोबारमा संलग्न

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोलीले केही दिनको अपरेसनमा लागुऔषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। भदौ १६ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा गरिएको अपरेसनमा १५ जनालाई पक्राउ गरिएको हो।

त्यस्तै, प्रहरीले दुई किलो लागुऔषध गाँजा, खैरो हेरोइन २८७ ग्राम र नियन्त्रित लागुऔषध २५२ एम्पुल बरामद गरेको छ। कारोबारीहरूबाट १० लाख ४० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको छ। दुई किलो गाँजा अमेरिकाबाट हुलाक मार्फत पार्सल गरेर नेपाल आइपुगेको थियो। सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी गाँजा भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले जानकारी दिए।

प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको छ। राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए।

काठमाडौं उपत्यकाभित्र लागुऔषध प्रयोगकर्ता बढ्दो छ। ड्रग्सको लतमा युवाहरू बढी रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी विकासराज खनालले बताए। १५ वर्षदेखि २५ वर्ष उमेर समूहका सबैभन्दा धेरै प्रयोगकर्ता रहेको खनालको दाबी रहेको छ।

प्रयोगकर्ताले लागुऔषध खरिद गर्ने नगद नभए जिन्सी सामान दिएर लागुऔषध प्रयोग गर्ने गरेको खुलेको छ। उनीहरूले आफ्नो साथमा रहेको मोबाइल, घडी र गितार समेत डिक (धरौटी) राख्ने गरेको पाइएको छ। नियन्त्रित लागुऔषधको एक एम्पुल खानको ४/ ५ डोज खानको लागि मोबाइल धरौटीमा राख्ने गरेका छन्।

‘उनीहरूले गितार, घडी र मोबाइलको मूल्याङ्कन गरेर लागुऔषधको मात्रा दिने गरेको पाइएको छ,’ एसएसपी खनालले भने।

प्रहरीले लागुऔषध कारोबारीको कोठाबाट विभिन्न कम्पनीका मोबाइल १७ वटा, घडी ७ वटा र गितार ४ वटा बरामद गरेको थियो। ललितपुर महानगरपालिका बस्ने २९ वर्षीय अनीश महर्जनको कोठाबाट ‘डिक’ राखिएका सामान सहित लागुऔषध बुप्रेनोफिर्न ५६ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन ७९ एम्पुल बरामद गरेको हो।

‘अब अभिभावकले पनि आफ्नो छोराछोरीको सामान कहाँ गयो? कसलाई दिए भन्ने कुरा पनि ख्याल गर्नुपर्‍यो। जसले उनीहरूलाई लागुऔषध दुर्व्यसनीबाट रोक्न मद्दत गर्छ,’ एसएसपी खनालले भने।

परिवार नै लागुऔषध कारोबारमा!

प्रहरीले आफ्नो सक्रियता बढाएपनि लागुऔषध कारोबारीको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले नै देखाएको छ। त्यसो त प्रहरीले बरामद गर्ने लागुऔषधको परिमाण हेर्दा पनि कारोबार बढेको कुरालाई पुष्टि गर्छ।

परिवारका सदस्यहरू नै मिलेर पैसाको लोभमा लागुऔषध कारोबारमा लागेको खुलेको छ। लागुऔषध ब्युरोले अहिले गरिरहेको अपरेसनमा यस्तो घटना बाहिरिएको ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले बताए।

‘हामीले अपरेसन गर्दा परिवारका सबै सदस्य नै कारोबारी भएको सूचना आएको छ। त्यसको लागि विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी खनालले भने।

भदौ १७ गते प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ माकलवारिबाट ७ ग्राम खैरो हेरोइनसहित २५ वर्षीय उत्सव घिमिरे र भोजपुरका ४१ वर्षका दोर्ची शेर्पालाई पक्राउ गर्न सफल भयो। त्यसको भोलिपल्ट भोजपुर पौवाढुङाकी ३२ वर्षीय फुलार्मी शेर्पा समेत पक्राउ परिन्।

उनको साथबाट प्रहरीले २ सय ४० ग्राम खैरो हेरोइन बरामद गरेको थियो। अनुसन्धान गर्दै जाँदा फुलार्मी र दोर्ची शेर्पाले लागुऔषध झापामा रहेका दुई जनाबाट ल्याउने गरेको बयान दिए।

त्यसपछि प्रहरीले  झापा मेचीनगर नगरपालिका बस्ने ३० वर्षीय अप्सरा खातुन भन्ने अप्सरा राजवंशीलाई पक्राउ गर्‍यो। त्यस्तै, उनको कारोबारमा सहयोग गर्ने झापा बस्ने ४४ वर्षीय नौसाद आलम समेत समातिए। उनीहरूको साथबाट १० लाख ४० हजार रुपैयाँ समेत बरामद भयो। उनीहरूले नै भारतबाट लागुऔषध ल्याएर फुर्लामी शेर्पा र दोर्ची शेर्पालाई दिएको अनुसन्धानमा खुलेको छ।

फूर्लामी शेर्पा र दोर्चीले लागुऔषध खरिद गर्न उनीहरूलाई ३९ लाख रुपैयाँ विभिन्न माध्यमबाट बुझाएको खुल्न आएको एसएसपी खनालले बताए। पक्राउ परेका अप्सरा र नैसाद दाजुबहिनी भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell