काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानविरुद्ध जित निकाल्यो। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हरायो।
खेलको पहिलो हाफमा नेपालले १-० ले अग्रता लियो। वर्षाका बिच सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्।
दोस्रो हाफमा नेपालले तीन गोल थप्यो। ६८औँ मिनेटमा भण्डारीले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै, अनिता बस्नेतले ७३औँ र ८५ औँ मिनेटमा गोल गर्दै भुटानविरुद्ध नेपाललाई सानदार जित दिलाइन्।
नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध उत्रिएको थियो। आजको खेलबाट दीपा शाही र अमिशा कार्कीले डेब्यू गरेका छन्।