PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झरीले पहिलो हाफ प्रभावित तर नेपालको सानदार सुरुवात, 'दोस्रो हाफमा मात्र रणनीति देखाउन सकियो' : प्रशिक्षक थापा

झरीले पहिलो हाफ प्रभावित तर नेपालको सानदार सुरुवात, 'दोस्रो हाफमा मात्र रणनीति देखाउन सकियो' : प्रशिक्षक थापा

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं: मंगलबार दिनभरी चर्को घाम लाग्यो। साँझ दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेल थियो। खेल अगाडि अभ्यासका लागि जसै खेलाडी मैदानमा निस्किए पानी दर्कन सुरु भयो। पहिलो हाफ नसकिँदासम्म झरी रोकिएन। तर, झरीले नेपालको सुखद् सुरुवातलाई भने रोकेन। भुटानसँगको समूह 'बी' को तथा प्रतियोगिताको पहिलो खेलमा नेपालले ४-० को सानदार जित निकाल्यो।

खेलको सुरुमा झरीकै कारण दुबै टोलीका खेलाडीले सास्ती ब्यहोरे। बल नियन्त्रणमा लिन र पास गर्न दुबै टिमका खेलाडीलाई कठिन भइरहेको थियो। सोचे अनुरुपको गति बलको नहुँदा खेलाडी अलमल्ल पनि देखिन्थे।

'सबैले प्रयास गरे। अर्को खेलमा राम्रो गर्ने प्रयास गर्नेछौं। फुटबलमा पानी पर्न सक्छ घाम लाग्न सक्छ। तर मौसमले केही असर त पार्‍यो। केटीहरुले राम्रो गरे।' भुटानी टोलीकी सहायक प्रशिक्षक टंकमाया घलेले खेलपछि भनिन्।

झरीको असहजताका बावजुद नेपाली टोलीले उद्घाटन गोल गर्ने धेरै बेर भने लगाएन। खेलको १२औं मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन्। पहिलो हाफमा नेपाल १ गोलले अघि रह्यो।

करिब १ घण्टा परेको झरी पहिलो हाफ सकिनै लाग्दा रोकियो। मैदानको कथा पनि फेरियो। मैदानमा नेपाली टोलीको खेल सुध्रँदै गयो, भुटान रक्षात्मक बन्दै गयो।

'मैले भनेको थिए मौसमबारे भन्न सकिँदैन। पानी रहेपछिको दोस्रो हाफमा धेरै इन्जोए गर्‍यो। बल पोजिसन राम्रो थियो। चार गोलले राम्रो रिलिफ दिएको छ,' नेपाली टोलीका प्रशिक्षक कुमार थापाले भने, 'मिडफिल्डमा डेब्यु गर्ने खेलाडी थिए।
अन्तिम समयमा आएर मञ्जलीलाई ज्वरो आएर ड्रप गर्न पर्‍यो। तर उनीहरुले सजिलो गरि एडजस्ट गरे। पहिलो हाफमा टफ फाइट नै गर्नु भयो। दोस्रो हाफमा (भुटानले) रोक्न थाल्ने। मौसमले गर्दा पनि डबल एफर्ट लगाउन पर्‍यो। भुटान टिम राम्रो खेल्यो।'

दोस्रो हाफमा थापाले भने जस्तै नेपालले राम्रो खेल पस्कियो र तीन गोल थप्यो। नेपालका लागि दोस्रो गोल सावित्रा भण्डारीले नै ६८औं मिनेटमा वान भर्सेस वानको अवस्थालाई चिर्दै गरिन्। दुई गोल गरेसँगै उनले करियरको ४० गोल पुर्‍याएकी छिन्। उनी नेपाली फुटबल टोलीको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। लिगका क्रममा चोट ब्यहोरेपछि लामो समय उनी मैदानबाहिर उपचारमा रहिन्। र, यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेकी हुन्।

त्यस्तै ७३औं मिनेटमा अनिता बस्नेतले नेपालका लागि तेस्रो गोल गर्दा चौथो गोल पनि उनैले ८५औं मिनेटमा गर्दै प्लेयर अफ दि म्याच बनिन्। पछिल्लो समय चोटका कारण लयमा नदेखिएकी बस्नेतले आज राम्रो गर्दै आफू लयमा फर्किएको प्रमाणित गर्ने अवसर पाएको बताइन्।

'पहिलो हाफमा गाह्रो भएको थियो। बल जज गर्न सकिरहेका थिएनौ। दोस्रो हाफमा राम्रो हुन्छ। मैले हामीले अझ स्कोर निकाल्छौं भन्ने सुधारेका थियौं। गोल सोचेभन्दा पनि बेटर भयो। मेरो बीचमा अलि कम्फर्टेबल पनि थिइन। लयमा फर्किएको प्रमाणित गर्न पाएँ।' बस्नेतले भनिन्।

अर्कोतर्फ प्रशिक्षक थापाले साना गल्ती भइरहेकाले त्यसलाई सुधार्नमा आफूहरु केन्द्रित हुने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell