PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?



सविन ढकाल

सामाजिक सञ्जालबाट सम्पर्क बढाएर किशोरीलाई करणीसम्म गरेको आरोप, सन्दीपविरुद्ध कसरी अगाडि बढ्छ अनुसन्धान?

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परिसकेको छ। मंगलबार महानगरीय प्रहरी वृत गौशालामा पीडितका आफन्तहरु लामिछानेले करणी गरेको भन्दै उजुरी लिएर पुगेका थिए।

१८ वर्षमुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्र धानुकले पुष्टि गरे। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगी करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरीअनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

'गौशाला प्रहरी वृत्तमा पीडितका आफन्तहरु आउनुभएको थियो। घटना के हो? हामी अनुसन्धान गर्दैछौ,' एआइजी धानुकले भने।

घटना भएको भोलिल्ट नै कप्तान लामिछाने केन्याविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि केन्यामा पुगेका छन्। जानुभन्दा अघिल्लो दिन आफूलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। स्न्याप च्याटमा कुराकानी गर्दै जाँदा काठमाडौं होस्टेलमा बस्दै आएकी किशोरी लामिछानेसँग जोडिएकी हुन्। लामिछानेको आफू फ्यान भएकाले कुराकानी गर्न थालेकोसमेत बताएकी छिन्।

प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु भएको छ। प्रहरीले पीडित भनिएकी किशोरीको स्वास्थ्य परिक्षणसमेत गराएको छ। पीडितले दाबी गरेअनुसार घटना १५ दिन अगाडिको मात्र भएकाले प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने छ। कलाकार पल शाहको केस करिब एक वर्षपछि पनि प्रहरीले अनुसन्धान गरेको थियो। कलाकार शाहलाई प्रहरीले उपलब्ध गराएको प्रमाण र पीडितको बयानको आधारमा मंगलबारमात्र जिल्ला अदालत नवलपुरले सढे २ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ। उजुरीमात्र हेर्दा पल र सन्दीपको केस उस्तै जस्तो देखिन्छ। दुबै घटनामा पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको छ। पल प्रकरणमा मंगलबार अदालतले फैसला सुनाउँदा जबर्जस्ती करणीमा सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा भने साढे दुई वर्ष कैद सुनाएको हो।

लामिछाने केसमा पनि प्रहरीले प्रमाण जुटाउन सकेको खण्डमा पल झैं फैसला आउने अनुमान ‍गर्न सकिन्छ। तर लामिछानेको उजुरीमात्र परेकाले प्रहरीले थप अनुसन्धान गर्नुपर्ने हुन्छ।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ।

कसरी बढ्छ लामिछाने विरुद्धको अनुसन्धान?

कप्तान लामिछाने यतिखेर विदेशमा छन्। अभियुक्त भाग्न सक्ने सम्भावना भएको खण्डमा उजुरीको आधार र अन्य थप केही प्रमाण फेला परे प्रहरीले लामिछानेलाई विमानस्थलबाट नै पक्राउ गर्न सक्छ। जसको लागि प्रहरीले केही प्रमाण र पीडितको उजुरीले अदालतबाट पक्राउ पूर्जीको अनुमति लिनुपर्ने हुन्छ।

प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गरिसकेको छ। अब प्रहरीले घटना भएको भनिएको होटलमा पुगेर थप प्रमाण संकलन गर्ने छ। पीडितले उजुरीमा भनेअनुसार मिति र स्थानमा कप्तान लामिछानेको उपस्थिति भए नभएको हेर्ने छ। यदि उजुरीमा भनिएअनुसार नै होटलमा बसेको देखिएको खण्डमा पीडित किशोरीले भनेको कुरालाई केही साँघुरो बनाउने छ।

त्यस्तै दुई जनाको सामाजिक सञ्जालमा भएको कुराकानीलाई पनि अर्को प्रमाणको रुपमा प्रहरीले आफ्नो अनुसन्धानमा पेश गर्न सक्छ। उजुरी अनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउछ। 

यदि सहमतिमा नै यौन सम्पर्क भएको र पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम भए कप्तान दोषी ठहरिने सम्भावना बढी देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell