PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

खाडी मुलुक जानको लागि फोटो स्टुडियोमा हजार रुपैयाँ तिरेपछि बन्छ एसएलसी पासको प्रमाणपत्र, तीन जना स्टुडियोका सञ्चालक समातिए



पहिलोपोस्ट

खाडी मुलुक जानको लागि फोटो स्टुडियोमा हजार रुपैयाँ तिरेपछि बन्छ एसएलसी पासको प्रमाणपत्र, तीन जना स्टुडियोका सञ्चालक समातिए

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङको बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका सञ्चालिका ४३ वर्षीया सुमित्रा कोइराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका सञ्चालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन्।

काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरूले एसएलसी, प्लस टु उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ। साथै, ती फोटो स्टुडियोहरूबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell