PahiloPost

May 15, 2024 | २ जेठ २०८१

साफ महिला च्याम्पियनसिप : आज भारत र पाकिस्तान भिड्दै, प्रशिक्षक क्षेत्री भन्छन् : यहाँ जित्नका लागि आएका हौँ



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : आज भारत र पाकिस्तान भिड्दै, प्रशिक्षक क्षेत्री भन्छन् : यहाँ जित्नका लागि आएका हौँ
फाइल फोटो

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। यी दुई टोलीबिच दिउँसो १ बजे दशरथ रंगशालामा खेल सुरु हुनेछ।

'हामी तयार छौं। पाकिस्तानलाई पनि हामीले अरु टिमलाई जसरी नै हेरेका छौं। साफका सबै टिमलाई हाम्रो सम्मान छ। खेलाडीहरु आजको म्याचका लागि तयार छन्। हामी अट्याकिङ फुटबल खेल्नेछौं। हामी यहाँ जित्नका लागि आएका हौं।' खेलअघि भारतीय टोली प्रशिक्षक सुरेन क्षेत्रीले भनेका छन्।

अर्कोतर्फ पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रँदैछ। पछिल्लो समय विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध व्यहोरेर फुकुवा भएको पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रँदैछ। पाकिस्तान टोलीकी कप्तान मारिया खानले ६ हप्ताको तयारी गरेको र मैदानमा उत्रन उत्साहित रहेको प्रिम्याच कन्फ्रेन्समा बताएकी थिइन्।

'टिम सकारात्मक छ। राम्रो फुटबल खेलेर अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कन चाहन्छौं,' उनले भनेकी थिइन्।

पाकिस्तान प्रतिबन्धबाट फुकुवा भएपछि दोहोरो नागरिकता भएका खेलाडीलाई पनि राष्ट्रिय टिमबाट खेल्न दिने नियम लागु गर्‍यो। जसका कारण यूएई, इङ्ग्ल्याण्ड लगायतका देशका लिगमा खेलिरहेका खेलाडी अहिले पाकिस्तानी टोलीमा छन्।

दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्दै

आज हुने दोस्रो खेलमा समूह 'ए' कै टोलीहरु बंगलादेश र माल्दिभ्स भिड्दैछन्। खेल दिउँसो साढे पाँच बजे सुरु हुनेछ।

नेपाल र भारतसँगै उपाधिमा नजर घुमाएको अर्को टोली हो बंगलादेश। पछिल्लो समय युवा टोलीमा दबदबा बनाउँदै आएको बंगलादेशले चुनौती बढाउन लक्ष्य लिएको छ।

पहिलाको साफमा जुनियर खेलाडीको बाहुल्यता भएको भएपनि अहिले खेलाडीको राम्रो 'कम्बिनेसन' भएको प्रशिक्षक गोलाम रब्बबी छोटूनले प्रिम्याच कन्फ्रेन्समा बताएका थिए। त्यस्तै माल्दिभ्सको टोली पनि राम्रो फुटबल प्रस्तुत गर्ने लक्ष्यमा छ।

अघिल्लो साफ च्याम्पियनसिपमा माल्दिभ्सले भारतसँग ६-० गोलअन्तर र श्रीलंकासँग २-० को पराजय ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell