PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

युक्रेन संकटपछि रसिया पुगे चिनियाँ तेस्रो वरियताका नेता लि, सोमवार नेपाल आइपुग्ने



पहिलोपोस्ट

युक्रेन संकटपछि रसिया पुगे चिनियाँ तेस्रो वरियताका नेता लि, सोमवार नेपाल आइपुग्ने
फाइल फोटो: सिन्ह्वा।

काठमाडौं :  चिनियाँ जनकंग्रेसका सभामुख तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो स्टान्डिङ कमिटीका तेस्रो वरियताका नेता लि चान्शु छिमेकी देशको १० दिने भ्रमणका लागि निस्किएका छन्। 

बुधवार रसिया हिँडेका उनको नेपाल, मंगोलिया र दक्षिण कोरियाको भ्रमण गर्ने कार्यतालिका रहेको सिन्ह्वाले जनाएको छ। 

चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष समेत रहेका उनले १२ देखि १५ सेप्टेम्वर (भदौ २७-३०)सम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सोमवार काठमाडौं ओर्लिने अध्यक्ष लि नेतृत्वको चिनियाँ संसदीय टोलीले सोमवार नै सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही साँझ सापकोटाले चिनियाँ टोलीलाई रात्रिभोज आयोजना गर्नेछ। 

नेपाल भ्रमणका क्रममा अध्यक्ष लिले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै मंगलवार उनले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ। सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यस्तै उनले मंगलवार नै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्ने कार्यक्रमसमेत परराष्ट्र मन्त्रालयले तय गरेको छ। 

चिनियाँ कम्युनिस्ट पार्टीको २० औं नेशनल कंग्रेस अक्टोवर १६ देखि बेइजिङमा हुँदै छ। त्यसको पूर्वसन्ध्यामा चीनको राज्यसंयन्त्रका तेस्रो वरियताका नेता छिमेकी मुलुकहरुको भ्रमणमा निस्किन लागेका हुन्।  

सातौँ इस्ट्रन इकोनमिक फोरममा भाग लिँदै उनले रसिया भ्रमणमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम रहेको छ। रसियाले युक्रेन माथि आक्रमण थालेपछि चीनबाट रसियामा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमणसमेत हो। 

लि चिनियाँ जनकंग्रेसको पोलिटव्युरो स्टान्डिङ कमिटीको सदस्यको रुपमा २०१७ अक्टोबरमा चयन भएका थिए। मार्च २०१८ मा जनकंग्रेसले उनलाई अध्यक्षमा निर्वाचित गरेको थियो। 

लि २०१८ मा राष्ट्रपति सि चिनफिङको प्रतिनिधित्व गर्दै उत्तर कोरियाको ७० औं स्थापना दिवसमा सहभागि हुन प्योङयाङ पुगेका थिए। 

२०१९ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि नेपाल भ्रमण गर्ने उच्चस्तरका नेता हुन्। राष्ट्रपति सि र प्रधानमन्त्री लि ख्छ्याङ पछि तेस्रो वरियतामा छन्। 

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लीबीच गत चैत २५ गते भर्चुअल सम्वाद भएको थियो। सोही बेला सापकोटाले नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यसलगत्तै सापकोटाले लीलाई कूटनीतिक च्यानलबाट औपचारिक निम्तो पठाइएका थिए। 

एक पछि अर्को भ्रमण 
पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणले तिब्रता पाएको छ। पश्चिमा राष्ट्र तथा उत्तरी छिमेकी चीनबाटसमे लगातार रुपमा नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको छ। 

यसैसाता मात्र अमेरिकाको विदेश मन्त्रालयका दक्षिण तथा मध्ये एसिया व्युरोका एक्टिङ प्रिन्सिपल डेपुटी असिस्टेन्स सेक्रेटर एलिजावेथ होर्स्टले नेपाल भ्रमण गरेकी छन्। त्यस्तै केहीसमय अगाडि मात्र अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुसमेत नेपाल भ्रमण गरेका थिए। 

त्यस्तै उत्तरी छिमेकी चीनबाट विदेश मन्त्री वाङ यी, सीपीसीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुखले नेपालको भ्रमण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell