काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरि सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम रोक्न आग्रह गरेका हुन्। उनले यस्तो कार्य नरोकिए आफ्नो पार्टीले कडा प्रतिवाद गर्न चेतावनी समेत दिएका छन्।
'सरकारले कर्मचारी सरुवा जभाभावी मनलाग्दी तरिकाले निरन्तर भईरहेको छ। आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरि आस्थाका आधारमा आफ्ना मान्छेहरु छानीछानी जिल्लाजिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रमुख जिल्ला अधिकारीको रुपमा पठाउने काम भईरहेको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी खटाउने काम गरिएको छ। यो तरिकाले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्ना मान्छेहरु छानीछानी लाने काम गरिएको छ,' उनले आरोप लगाउँदै भने।
उनले सरकारले धमाधाम दीर्घकालीन महत्वका निर्णयहरु गरिरहेको भन्दै प्रतिनिधिसभामा पनि अनेक खालको विधेयकहरु ल्याएर बहुमतको बलमा पास गराउने प्रयत्न गरिरहेको आरोपसमेत लगाएका छन्।
यस्तै, प्रमुख सचेतक भट्टराईले स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह रिहा गर्न पनि माग गरे। स्ट्यान्ड कमेडीका क्रममा अपूर्वले नेवार समुदायमाथि व्यङ्ग्य गरेका थिए। जसको विरोध गर्दै अभियन्ताहरुले प्रहरीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए।
'एक जना हास्य कलाकार अपूर्व क्षितिज सिंहजीले केही दिन अगाडि आफ्नो पोष्टमा हास्यव्यङ्ग्य पोष्ट गरेवापत उहाँ १० दिनदेखि थुनामा हुनुहुन्छ। हुनत मन्त्रीलाई यसो कर्के नजर लगायो भने गार्डहरु थुनामा पर्ने देश हो। अहिले त्यो खालको मन्त्रीजीहरु सत्तामा आसिन हुनुहुन्छ। अब भनौं भने के भनौं,' उनले भने, 'मन्त्रीजीलाई अलिकति आलोचना गर्यो भने पनि पक्राउ परेर जाने स्थिति छ। तर उहाँले कला प्रस्तुत गर्ने क्रममा अलिकति हाँस्य प्रस्तुतिको क्रममा केहीलाई मर्का पर्योहोला। कसै न कसैलाई मर्का पार्ने प्रस्तुती नै हुन्छ हाँस्यकलाहरुमा। म ती हाँस्य कलाकार सिंहलाई शीघ्र रिहाईको माग गर्न चाहन्छु,' उनले भने।