काठमाडौं : महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा भारतले पाकिस्तानमाथि ३-० गोलको जित निकाल्यो। हारका बावजुत पाकिस्तानका लागि आजको दिन विशेष रह्यो। ८ वर्षपछि पाकिस्तानी महिला टोली मैदानमा उत्रियो।
‘८ वर्षपछि खेल्यौँ। राम्रो खेले खेलाडी। यसरी नै पाकिस्तानको फुटबल विकास हुँदै जाने हो’, आदील रिज्कीले भने, ‘हामी यहाँबाट सुरु गरेका छौँ।’
लामो समयपछि मैदान फर्किएको पाकिस्तानले दक्षिण एसियाको शक्ति राष्ट्र भारतमाथि राम्रै चुनौती दियो। खेलपछि भारतीय टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले पाकिस्तानी प्रशिक्षक आदील रिज्कीलाई ‘मोमेन्टो’ दिए।
हारका बावजुत खेलाडीको प्रदर्शनबाट रिज्की सन्तुष्ट सुनिए। प्रतियोगितामा पराजय ब्यहोर्दै सुरुवात गरे पनि उनले विपक्षी को थियो भन्ने पनि हेर्नुपर्ने बताए।
‘क्लिन राख्ने सोच थियो। गोल गर्ने सोच थियो। हाम्रो विपक्षी को थियो भन्ने पनि सोच्नु पर्छ’, उनले भने, ‘इण्डिया कठिन प्रतिस्पर्धी थियो, हामीले राम्रो चुनौती प्रस्तुत गर्यौँ। खेलाडीहरुले राम्रो प्रदर्शन गरे। पाकिस्तान आफ्नो खेलाडीप्रति गर्व गर्छ।’
त्यस्तै, पाकिस्तानी टोलीकी कप्तान मारिया खानले लामो समयपछि खेल खेल्न पाउँदा खुशी भएको बताइन्। भारतको जितमा एक गोल आत्मघाती गोल गर्न पुगेकी उनी खेलपछि भावुक बन्दै अन्य खेलाडीसँग अगालो मारिरहेकी थिइन्।
‘इमोसनल भएका छौँ। पाकिस्तानबाट खेल्यौँ। यहाँको कुनै टिमलाई सहज रुपले लिन सकिने अवस्था छैन,’ उनले भनिन्।
यता भारतले सुखद सुरुवात गर्न सफल भएको छ।
‘पहिलो म्याच महत्वपूर्ण थियो। खेल जितेका छौँ, खुशी छौँ। अझ धेरै ठाउँ छन् जसमा काम गर्नुपर्नेछ’, भारतीय टोलीका प्रशिक्षक क्षेत्रीले भने, ‘टिममा नयाँ फेसहरु थिए, उनीहरुलाई मौका दिएँ। पाकिस्तानले धेरै पछि खेलेकाले उनीहरुको योजना र खेल्ने शैली बारेमा थाहा थिएन। हामी हाम्रै योजना खेल्यौँ।’
उनले आफ्नो टोलीको फाइनल थर्डमा काम गर्नुपर्ने धेरै कुरा भएको बताए।
‘हामीले ३ गोल गर्यौँ त्यो महत्वपूर्ण छ। कम्बिनेसन मिलेको छ। तीन गोल इनफ छ। जितका लागि एक गोलनै पर्याप्त हुन्छ,’ उनले भने।