
काठमाडौं : बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम आयोजन गर्यो। प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
प्रचण्डलाई अर्कै कार्यक्रममा पनि जानु थियो। त्यसैले उनले आफू पहिला बोलेर जाने भने। तर, पार्टीका उपमहासचिव एवम् जनार्दन शर्माले प्रचण्डलाई रोके। भने : पहिला म बोल्छु।
प्रचण्डले हुन्छ भने पछि जनार्दशन सम्बोधनका लागि आए र अध्यक्षकै आलोचनामा लागे। विद्यार्थी संघमा देखिएको अराजकताको जिम्मेवार प्रचण्ड नै भएको भन्दै शर्माले नेतृत्वले यस्तो गतिविधि पुल्पुल्याउन नहुने बताए।
‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो। अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुल्पुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौ । त्यो कुरा मान्य हुँदैन,' उनले भने।
शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि नेतृत्वको गल्तीलाई स्वीकार्न नसक्ने बताए। आफू प्रचण्डको आलोचक भएको बताउँदै उनले सम्बोधनलाई निरन्तरता दिए।
'म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ। नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ। सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो। त्यो कुराप्रति म गम्भिर छु। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो। अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ। अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ,' शर्माले भने, 'नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन। आलोचना गर्नुपर्छ। म त प्रचण्ड कमरेडको आलोचक हुँ। आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ। चाकडीले रक्षा हुँदैन।'
उनको सम्बोधनका क्रमा कार्यक्रममा तालि र हाँसो दुवै गुञ्जिए। प्रचण्ड पनि मुसुमुसु हाँसिरहे।
अनि सम्बोधनका लागि प्रचण्ड आए। जवाफमा जनार्दनको रक्षा गर्ने र हुर्काउने मै हुँ भन्दै प्रचण्ड गर्जिए।
‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा। म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो। उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि। म त जनयुद्धको तयारीको पनि नेतृत्व गरें। जनयुद्धको पनि नेतृत्व गरें। संविधानसभाको पनि नेतृत्व गरें। संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें,' प्रचण्डले भने।
जनार्दनलाई जवाफ दिइसकेपछि प्रचण्डले उत्तराधिकारीको प्रसंग उठाए। पार्टीलाई एकतामा डोहोर्याउन सक्ने उत्ताराधिकारी तयार गर्ने आफ्नो योजना रहेको प्रचण्डले सुनाए।
भने, 'मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरु तयार हुन्। तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन्। तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडी बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढुन्। हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन्। यही मेरो सपना छ।'