PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कार्टुनमार्फत ‘भ्रष्टाचारविरुद्ध निशाना’, सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी



पहिलोपोस्ट

कार्टुनमार्फत ‘भ्रष्टाचारविरुद्ध निशाना’, सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुन राखिएका छन्।

‘भ्रष्टाचारविरुद्ध निशाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका प्रदेश प्रमुख तिलक परियारले भ्रष्टाचारविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो समाज भ्रष्टाचारले जेलिएको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको भूमिका कमजोर भयो। नियमनकारी निकायहरु गम्भीर नहुने हो भने, देश नै आर्थिक संकटमा फस्न सक्छ।’

प्रदर्शनीमा राखिएको कार्टुनको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले समाज रुपान्तरण र पारदर्शिता कायम गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने बताए। कार्टुनले बेतिथिविरुद्ध खबरदारी गर्ने भन्दै उनले यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

त्यस्तै कर्णालीका पूर्व कानुनमन्त्री नरेश भण्डारीले देशमा भ्रष्टाचार संस्थागत भएको बताए।

भण्डारीले भने, ‘धेरै धन कमाउने लोभ र संस्कृति हाबी भयो, धन कमाउने नाममा व्यक्तिहरु भ्रष्टाचार गर्न थाले। भ्रष्टाचार नियन्त्रण नहुँदा व्यक्ति मोटाउने र देश दुब्लाउने अवस्था आयो।’

सामाजिक चेतना जगाउन र भ्रष्टाचारविरुद्ध निशाना केन्द्रित गर्न कार्टुन प्रदर्शनीले सहयोग पुग्ने उनको भनाइ छ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले अबको निशाना भ्रष्टाचारीविरुद्ध हुनुपर्ने बताए। समाजमा क्यान्सर सरह भ्रष्टाचार मौलाएको भन्दै उनले शिक्षामा हुने अनियमिततालाई मात्र रोक्न सके भ्रष्टाचारमा कमी आउने दाबी गरे।

‘ठूला अनियमितता र बेतिथिका घटना बाहिर नै आउँदैनन्,’  उनले भने, ‘राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारका काण्ड पनि छानबिन हुनुपर्छ, राजनीतिक भ्रष्टाचार अन्त्य नभएसम्म बेतिथि रोक्न कठिन हुन्छ।’

देशका सातवटै प्रदेशमा प्रदर्शनी आयोजना गरिएको कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell