काठमाडौंः प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटको आधार तय गर्न बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको कार्यदलले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार बिहान ९ बजे बस्ने बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्व तहमा हस्तान्तरण गर्ने तयारी गरेको छ।
सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदनलाई अन्तिम रुप दिएर बिहीबार शीर्ष तहमा बुझाउने बताए।
कार्यदलले सिट बाँडफाँटका लागि आधारसहितको प्रतिवेदन नेताहरुलाई पेश गर्नेछ। अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम, हालैको स्थानीय तहको मत विश्लेषणसहितको प्रतिवेदनको तयारी छ। उक्त प्रतिवेदनका आधारमा सिट बाँडफाँट हुनेछ।
कार्यदलले सिट बाँडफाँटको अधिकार भने शीर्ष राजनीतिक तहलाई नै दिने छ। सत्ता गठबन्धनमा आवद्ध दलहरुमा सिट बाँडफाँटमा कार्यदलमा सहमति नभएपछि शीर्ष तहमा दिन लागिएको हो।
गठबन्धनमा आवद्ध दलमध्ये प्रतिनिधि सभाको १६५ क्षेत्रमा कांग्रेसले १०० सिटमा दाबी कायम राखेको छ। यस्तै, माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको छ। नेकपा (एकीकृत समाजवादी) को ४० जनता समाजवादी पाटीले २५ तथा राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी राख्दै आएका छन्। तर, बाँडफाँटको अन्तिम टुंगो भने अब शीर्ष तहबाटै हुनेछ।