
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इङग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ। स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली नापोलीले लिभरपुलमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।
खेलको चौथो मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै पिओट्र जिलिन्स्कीले नापोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै १७ औं मिनेटमा पनि अर्को पेनाल्टी पाएको घरेलु टोली यसपटक भने भिक्टर ओसिमनले गोल गर्न सकेनन्। यद्यपि ३१ औं मिनेटमा आन्द्रे-फ्रान्क एनगुइसाको गोलमा घरेलु टोलीले अग्रता दोब्बर बनायो। त्यस्तै ४४ औं मिनेटमा जिओभानी सिमेओनले गोल थप्दा पहिलो हाफमा नापोली तीन गोलले अघि रह्यो। दोस्रो हाफको दोस्रो मिनेट भित्रै फेरि जिलिन्सीकले नै गोल थपे। उता लिभरपुलका लुइस डायजले ४९ औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन। र, लिभरपुल ४-१ गोलअन्तरले पराजित हुन पुग्यो।
त्यस्तै आजै राति सम्पन्न समूह 'ए' कै अर्को खेलमा डच क्लब आयाक्सले स्कटिस क्लब रेञ्जर्समाथि ४-० को फराकिलो जित निकाल्यो। आयाक्सको जितमा एडसोन अल्भारेज, स्टेभेन बेरघुइस्, मोहम्मद कुडुस र स्टेभेन बेर्ज्विनले गोल गरे।