यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न समूह 'सी' को खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहायतामा ५-१ गोलको फराकिलो जित निकालेको हो।
खेलको १३ औं मिनेटमा फ्रांक केस्सिइको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यस्तै ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए। अर्कोतर्फ भिक्टोरियाका जन साइकोराले ४२ औं मिनेटमा गोल फर्काए। तर, इन्ज्युरी समयमा फेरि बार्सिलोनाका लेवान्डोस्कीले गोल फर्काउँदै खेलमा दबादवा कायमै राखे। दोस्रो हाफमा उनले ह्याट्रिक पुरा गरे। उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरेका थिए। बार्सिलोनाका लागि पाँचौ गोल भने फेरान टोरेसले ७१ औं मिनेटमा गरे।
त्यस्तै गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २-० गोलअन्तरले हरायो। सन सिरो स्टेडियममा घरेलु टोलीलाई हराउन २५ औं मिनेटमा लेरोए सानेले बार्यनका लागि अग्रता बनाएका थिए। दोस्रो गोल भने बायर्नले आत्मघाती गोलका रुपमा उपहारमा पायो। इन्टरका ड्यानिलो डी एमब्रोसियोले ६६ औं मिनेटमा आत्मघाती गोल गर्दा बायर्नले २-० गोलले जित निकाल्न सक्यो।