काठमाडौः दसैंका लागि असोज १ गतेदेखि बसको टिकट खुला हुने भएको छ।
बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी, सडक विभागबीच भएको छलफलमा यो सहमति भएको हो।
संघका अध्यक्ष स्वाँरले असोज १ गतेदेखि बसको टिकट खुलाउने निर्णय भएको बताए।
उनले असोज १ गतेबाट बसको टिकट खुलाउँदा राम्रो हुने भन्दै उक्त प्रस्ताव लगेका थिए। 'बाटोहरुको अवस्थाहरु पनि यो समयमा मर्मतसंभार गर्न सजिलो हुनेछ। पानी भदौ अन्तिमसम्म मात्र पर्ने संभावना रहेकाले हामीले यस्तो निर्णय गरेको हौं,' उनले भने।
उनका अनुसार गाडी कम भएको रुटमा केही थप गरिएका छन्। 'स्वचालित प्रणाली लागु भएकाले यसपाली दसैंमा भाडा बढ्ने छैन,' उनले भने।
अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने र मुख्य सडकलाई मर्मत गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय भएको छ।
यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडाौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको स्वाँरले बताए।