PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर



पहिलोपोस्ट

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर
Photo : Apple

एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्। 

कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’ नाम दिइएको उक्त कार्यक्रम नेपाली समयअनुसार बुधबार राति १०:४५ बाट सुरु भएको थियो। 

आइफोन १४ र १४ प्लस
आइफोन १४ लाइनअपको बेसक मोडलमा ६.१ इन्चको डिस्प्ले रहेको छ। आइफोन १४ प्लसमा भने ६.७ इन्चको डिस्प्ले छ। ब्याट्री लाइफमा उल्लेख्य सुधार गर्दै एप्पलले पाँचवटा रङमा आइफोन १४ र आइफोन १४ प्लस उपलब्ध रहेको जनाएको छ। 

आइफोन १४ मोडलमा प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै दुईवटा फिचर राखिएको छ। सवारीसाधन दुर्घटना पहिचान गर्ने र इमर्जेन्सी मेसेज पठाउन सिमकार्ड मात्रैको भर नपरी सेटलाइट कनेक्टिभिटी पनि यो फोनमा एप्पलले उपलब्ध गराएको छ। 

यी बेसिक मोडलमा ए१५ चिप जडान गरिएको छ। जुन चिप आइफोन १३ का मोडलहरुमा पनि प्रयोग भएको थियो। कम्पनीका अनुसार आइफोन १४ मा इ-सिम पनि उपलब्ध छ। यो भनेको भौतिक सिमकार्ड बिनानै प्रयोगकर्ताहरुले टेलिकम अपरेटरको नेटवर्क उपयोग गर्न सक्छन्।  

एप्पलले आइफोन १४ को न्यूनतम मूल्य ७९९ अमेरिकी डलर तोक्दा १४ प्लसको ८९९ अमेरिकी डलर तोकेको छ। एप्पलले आइफोन मिनि सिरिज भने यसपटक हटाएको छ।  

आइफोन १४ प्रो र प्रो म्याक्स

सम्भवत लामो समयदेखि संसारभर चासोका साथ हेरिएको मोडल हो आइफोन १४ प्रो। अन्तत एप्पलले बुधबार यो मोडल पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १४ प्रो र प्रो म्याक्स गरि दुईवटा मोडल ल्याएको छ। एउटा ६.१ इन्च अर्को ६.७ इन्चको डिस्प्लेसहित। 

आइफोन १४ प्रोमा नयाँ चिप जडान गरिएको छ। जुन हो ‘ए१६ बायोनिक’। यसले क्यामेरासहित अन्य फिचरहरुलाई थप सुदृढ बनाएको एप्पलले दाबी गरेको छ। आइफोन १४ प्रोमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा र राम्रो भिडियो अनुभव पाइने कम्पनीले जनाएको छ। एप्पलले बेस मोडलभन्दा थप दुई सय अमेरिकी डलरमा प्रो मोडल बिक्री गर्ने गरेको छ। 

कम्पनीले आइफोन १४ प्रोको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर र आइफोन १४ प्रो म्यासको सुरुआती मूल्य १०९९ अमेरिकी डलर तोकेको छ। यसमा पनि क्र्यास डिटेक्सन र सेटलाइट नेटवर्क रहेको छ। नयाँ ४८ मेगापिक्सेलको मेन क्यामरा यसमा जडान गरिएको छ। 

एयरपड्स प्रो
एप्पलले दोस्रो पुस्‍ताको एयरपड्स प्रो अहिलेसम्मकै अत्याधुनिक एयरफोन भएको दाबी गरेको छ। गुणस्तरीय साउन्डदेखि अनावश्यक आवाज (नोइज) घटाउन यो प्रडक्ट निकै उपयोग हुने एप्पलको जिकिर छ। 

अहिलेको भर्सनभन्दा लामो ब्याट्री लाइफ एयरपड्स प्रो टुमा रहेको बताइएको छ। एयरपडमा ६ घण्टासम्म ब्याट्री टिक्ने एप्पलले जनाएको छ।  
यसमा प्रोसेसर नै नयाँ जडान गरिएको छ। प्रयोगकर्ताहरुलाई बाहिरी आवाज शतप्रतिशत हटाउन मन नलागे ‘एडेप्टिभ ट्रान्फरेन्सी’ मोड छान्न सक्ने सुविधा एप्पलले ल्याएको छ। 

निर्माण कार्य लगायतका चर्को आवाजलाई निस्तेज पारे पनि प्रयोगकर्ताहरुले मान्छे र सवारीसाधनको आवाज यो मोडमा उपयोग गर्न सक्ने बताइएको छ। यसमा नयाँ एचटु चिप प्रयोग गरिएको छ। नयाँ एयरपड्स प्रोको मूल्य एप्पलले २४९ अमेरिकी डलर तोकेको छ। 

कम्पनीले सन् २०१६ मा एयरपड्स ल्याएको थियो। काउन्टरपोइन्ट रिसर्चका अनुसार एप्पलले २०२१ मा सात करोड ८० लाख युनिट ट्रु वायरलेस एयरबड्स बिक्री गरेको थियो। २०२१ मा एयरपड्स बजारमा एप्पलले २६ प्रतिशत हिस्सा ‌ओगट्न सफल भएको बताइएको छ। 

एप्पल वाच सिरिज एट
एप्पलले एप्पल वाच सिरिज एट सार्वजनिक गरेको छ। यो स्मार्ट वाचमा तापक्रम सेन्सर, क्र्यास डिटेक्सन (दुर्घटना हुनेवित्तिकै इमर्जेन्सी सेवासँग अटोम्याटिक कनेक्ट हुनेछ) जडान गरिएको छ। सँगै एप्पल वाच सिरिज एटमा १८ घण्टाको ब्याट्री लाइफ रहेको छ। लो पावर मोडमा यसको ब्याट्री लाइफ ३६ घण्टासम्म रहेको एप्पलले जनाएको छ। 

सिरिज एटको एप्पल वाचमा इन्टरनेसनल रोमिङ सेवा इनेबल छ। पुन: प्रयोग गरिएका अल्मुनियमसहित निर्माण भएको यो एप्पल वाच स्टिल फिनिसिङमा पनि उपलब्ध छ।  

कम्पनीले जीपीएससहित सिरिज एट एप्पल वाचको ३९९ अमेरिकी डलर र सेलुलर मोडलको ४९९ अमेरिकी डलर मूल्य तोकेको छ। सन् २०२२ को दोस्रो त्रैमासमा एप्पलको घडीले स्मार्टवाच बजारको २९ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्ट रिसर्चले जनाएको छ। 

एप्पल वाच अल्ट्रा
एप्पलले खेलकुदमा सक्रियहरुलाई लक्षित गर्दै एप्पल वाच अल्ट्रा पनि सार्वजनिक गरेको छ। टाइटानियम केसले घेरिएको यो घडी कम्पनीले सन् २०१५ मा पहिलोपटक ल्याएको थियो। सेप्टेम्बर २३ बाट बिक्री थाल्ने घोषणा गरेको एप्पल वाच अल्ट्राको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ।

 
यो घडीको एसइ मोडल पनि एप्पलले ल्याएको छ। यो प्रडक्टको सबैभन्दा कम मूल्यको भेरियन्ट एसइ मोडल नै हो। यसको मूल्य कम्पनीले २४९ अमेरिकी डलर तोकिएको छ। 

तस्विर : एप्पल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell