PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

गठबन्धनको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै



पहिलोपोस्ट

गठबन्धनको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै

काठमाडौं : पाँच दलीय गठबन्धनको कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलका लागि आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको थियो। बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनको भनाइ छ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरि सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको बताइएको छ। कार्यदलको बैठक आज बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए। 

गठबन्धनमा आवद्ध दलमध्ये प्रतिनिधि सभाको १६५ क्षेत्रमा कांग्रेसले १०० सिटमा दाबी कायम राखेको छ। यस्तै, माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको छ। नेकपा (एकीकृत समाजवादी) को ४० जनता समाजवादी पाटीले २५ तथा राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी राख्दै आएका छन्। तर, बाँडफाँटको अन्तिम टुंगो भने अब शीर्ष तहबाटै हुनेछ।  

गठबन्धनमा आवद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।

यसैगरि नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell