PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित, महासचिवमा रोशन श्रेष्ठ विजयी



पहिलोपोस्ट

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित, महासचिवमा रोशन श्रेष्ठ विजयी

काठमाडौं : नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका हुन्।

आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरे। नवनिर्वाचित अध्यक्ष चन्द यसअघि संघको महासचिव थिए। यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित भएका छन्। उनले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे।

यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भएका छन्। उनले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गरे। संघको वाग्मती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित भए। उनको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गरिन्।

संघको नयाँ नेतृत्वसहित सात उपाध्यक्ष, महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो। संघमा दुई उपाध्यक्ष र १० सदस्य मनोनयनबाट आउने व्यवस्था छ। मतदान अघिनै छ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा गण्डकी प्रदेशबाट याम गुरुङ, मधेश प्रदेशबाट उपेन्द्र यादव, सुदूरपश्चिम प्रदेशबाट हरकसिंह धामी, कर्णाली प्रदेशबाट भरतबहादुर शाह, प्रदेश १ बाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्विरोध निर्वाचित भएका थिए।

सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट  झकबहादुर मिदेन, कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेश प्रदेशबाट मोहम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र वाग्मती प्रदेशबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell