PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग



पहिलोपोस्ट

आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। हाल क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारीसँगको कुराकानीमा आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको बताए।

''मैले केही गरेको छैन' भन्ने कुरा आएको छ,' सन्दीपलाई उदृत गर्दै मल्लले भने।

सन्दीपमाथि निलम्बनको चर्चा चले पनि कानुनी रुपमा स्पष्ट नहुन्जेल कुनै किसिमको कारवाही नगर्ने योजना अहिले क्यानको छ।

लामिछाने विरुद्ध महानगरीय प्रहरी वृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको छ। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको भन्दै उजुरी परेको हो।

स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीमा परेको उजुरीअनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।

त्यस्तै सामाजिक संजालमा सन्दीपको व्यवहारलाई लिएर अन्य युवतीहरुले पनि लेख्न थालेका छन्। 

लामिछानेले सीपीएल सकेर नेपाल आउने क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell