PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

अहिलेको गठबन्धनलाई 'विचित्र' भन्दै शेखर कोइरालाले भने : उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन



पहिलोपोस्ट

अहिलेको गठबन्धनलाई 'विचित्र' भन्दै शेखर कोइरालाले भने : उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बनाउनमात्र गठबन्धन गरे अप्ठ्यारो हुने बताएका छन्। नेपाल प्रेस युनियनले जनकपुरमा आयोजना गरेको १०९औँ वीपी जयन्तीको अवसरमा वीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्र र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिलेको गठबन्धन विचित्रको छ, निर्वाचनपछि मात्रै थाहा हुन्छ के हुन्छ भनेर, १०० सिट नपाए कांग्रेसको एकल बहुमत कसरी आउँछ?’

कांग्रेसकै सरकारले विवादित मिडिया काउन्सिल विधेयक र सत्य निरुपण तथा मेलमिलाप विधेयक ल्याएको उनले बताए। उक्त विधेयकका कारण देश दण्डहीनतातिर अघि बढिरहेको उनको भनाइ थियो।

‘यो दुवै विधेयक अत्यन्तै गम्भीर छ। १० लाख छ जरिवाना। एक रुपैयाँ पनि जरिवाना लिनुहुन्न। तपाईंहरुले पनि सोचविचार गरेर यल्लो जर्नालिजम नगर्नू। प्रेस स्वतन्त्रताबिना देश अघि बढ्न सक्दैन। प्रेसलाई सरकारले दबाउन खोज्छ। प्रेसका साथीहरूले यसलाई चिर्दै लानुको विकल्प छैन।’

हालको गठबन्धन विचित्रको रहेको भन्दै उनले वीपीले दिएर गएको विचार र सिद्धान्त हाल गठबन्धन गरिएको दलसँग नमिल्ने बताए।

‘निर्वाचनपछि मात्रै थाह हुन्छ यो गठबन्धन के हुन्छ भनेर, किनभने उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन। हामीले एमालेलाई परास्त गर्न र भोलि सरकार बनाउन यो गठबन्धन गरेको हो,’ उनले भने।

गठबन्धन गर्ने भनेर केन्द्रीय समितिले निर्णय गरेको उनले सुनाए। स्पष्ट रुपमा कांग्रेसको एकल बहुमत आउने गरी गठबन्धन गर्नुपर्नेछ भनेर निर्णय भएको उनको भनाइ थियो।

उनले भने, ‘बहुमत ल्याउन १०० सिट लिनैपर्छ। तर, अरुले छाड्ने अवस्था छैन। कांग्रेस अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिएको छ गठबन्धनका कारण।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell