PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

सन्दीप प्रकरणमा आईसीसीको चासो, कप्तानीबाट निलम्बन गर्ने तयारीमा क्यान



पहिलोपोस्ट

सन्दीप प्रकरणमा आईसीसीको चासो, कप्तानीबाट निलम्बन गर्ने तयारीमा क्यान

काठमाडौं : नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणी आरोपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चासो देखाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सन्दीपमाथि परेको उजुरीलाई लिएर आइसीसीले चासो देखाएको बताएका हुन्।

'आइसीसीले के हुन सक्छ भनेर चासो राखेको छ। नाबालिग केस भएकोले, रेपकेस भएकोले उनीहरुले चासो राखेका छन्,' उनले भने।

सन्दीपमाथि नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अहिले लामिछाने लिग क्रिकेट खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्। नेपाल क्रिकेट संघको पदाधिकारीसँग कुरा गर्दै सन्दीपले भने आफ्नो बचाउ गरेका छन् र कानुनी सहायता माग गरेका छन्। यस्तै, लिग सकेपछि मात्रै नेपाल फर्कने जानकारी उनले क्यानलाई दिएका छन्।

क्यानले भने सन्दीपलाई कप्तानीबारे निलम्बन गर्नेबारे तयारी गरिरहेको छ। क्यानले यस विषयमा कानुनी परामर्श लिएर आजै विज्ञप्ती निकाल्न सक्ने एक पदाधिकारीले जनाएको छ।

क्यानले सन्दीपलाई उनको माग अनुसार कानुनी सहायता गर्न तयार भएको पनि जनाएको छ। कार्यवाहक सचिव मल्लले भने, ' प्रहरीले अनुसन्धान गरिरहेको छ। अपराधी नै हो भने ढाकछोप गरिँदैन। क्यान अभिभावक हो, उसको लागि कानुन व्यवासायी खोजिदिनेछौं।'

सेन्ट लुसियामा रहेका सन्दीपको टिमले अझै एक महिना लिग क्रिकेट खेल्ने कार्यतालिका छ। पक्राउ पुर्जी जारी भएको अवस्थामा सन्दीप नेपाल नफर्किए प्रहरीले इन्टरपोलको सहारामा उनलाई पक्राउ गरेर नेपाल ल्याउन सक्छ। यस्तै, उनी आफै नेपाल फर्किए विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell