PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काभ्रेमा डेंगी संक्रमण तीव्र, ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा स्वास्थ्य कार्यालय



रासस

काभ्रेमा डेंगी संक्रमण तीव्र, ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा स्वास्थ्य कार्यालय
फाइल फोटो।

काभ्रेपलाञ्चोक : जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण बढ्दै गएको छ। चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेंगीको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भइसकेको हो।

‘चार दिनको अवधिमा शतप्रतिशत संक्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ,’ कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंले भने।

उनका अनुसार संक्रमितमध्ये महिला र पुरुषको संख्या बराबर नै छ। खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म संक्रमण देखिएको छैन।

समयमै उपचार पाउने संक्रमितलाई करिव पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा संक्रमण तीव्र रुपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा सेढाईंले बताए।

उनले भने, ‘बर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सेचतना गराइएको छ।’

उनका अनुसार संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ। यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए। अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ।

अधिक संक्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ। डेंगी रोगविरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए।

उनका अनुसार काभ्रे हाल डेंगी रोगको निकै जोखिमयुक्त जिल्ला हो। यसकारण डेंगीको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन्।

तीन वर्षपछि पाँचखालमा पहिलो डेंगीको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो। जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेंगी संक्रमण देखिएको थियो।

लामखुट्टेको टोकाईबाट डेंगी रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विविरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell