काठमाडौं : उमेश श्रेष्ठ गत सोमबार काठमाडौंको सुनधारास्थित सिभिल मल पुगेका थिए। संखुवासभाबाट उनी काठमाडौं फिल्म हेर्न आएका थिए, त्यो फिल्म जसमा उनले आफै अभिनय गरेका छन्। गाउँमा सिनेमा हल छैन, त्यसैले उनका लागि यो नौलो अनुभव थियो।
उमेशलाई सिनेमा हल अहिलेसम्म देखेका थिएनन्। सोच्थे- हल त एउटा घरजस्तो ठूलो हुन्छ होला अनि ठूलो टिभीमा पर्दा टाँगेको हन्छ, त्यहीँ नै हेर्ने हो फिल्म। उनीमात्रै होइन संखुवासभाबाटै आएका कञ्चन चिमोरिया(लक्ष्मी), दिनेश खत्री, र क्षितिज लिम्बुले पनि त्यसअघि हलमा पुगेकाका थिएनन्। गाउँमै हुर्केका उनीहरूलाई शहरका हलसम्म कसले पुर्याइदिओस्?
सोमबार भने क्युएफएक्समा आफै अभिनय गरेको ‘ऐना झ्यालको पुतली’ को ग्रयान्ड प्रिमियर शोमा पुगे उनीहरु। प्रिमियरमा मानिसको भिड थियो। त्यही खचाखच भिडबिच लक्ष्मी, दिनेश, उमेश र क्षितिजसँगै अन्य साथीहरू थिए। उनीहरूको अनुहारमा बेग्लै खुसी र उत्साहको भाव प्रष्ट देखिन्थ्यो। जीवनमा पहिलोपटक अभिनय गर्नु र पहिलोपटक हलमा आफ्नै फिल्म हेर्न पाउनु मिठो संयोग थियो उनीहरूको लागि।
‘हलमा पहिलो पटक फिल्म हेर्न आएका छौं। त्यो पनि आफ्नै। हामी एकदमै धेरै खुसी भइरहेका छौं, उमेशले भने।
उमेश श्रेष्ठ
दिनेश पनि काठमाडौं पहिलो पटक आएका। उमेश र क्षितिज पनि पहिलो पटक फिल्म प्रोमोशनको क्रममा काठमाडौं आएका थिए। केहीदिन बसेर उनीहरू फर्किएका थिए। पुनः काठमाडौं आउँदा भने दिनेश पनि यतै आइपुगे। फिल्ममा वसन्त (दिनेश) भन्दा बांगे(उमेश) पहिला काठमाडौं पुग्छन्। रियल जीवनमा पनि त्यही भइदियो, फिल्मका कास्टिङ डाइरेक्टर केदार श्रेष्ठले भन्दै थिए।
फिल्म ‘ऐना झ्यालको पुतली’ का मुख्य पात्र यिनै बालबालिका हुन्। स्थापित कलाकार सिरु विष्ट बाहेक सबै 'नन् एक्टर'।
ठूलो हल, ठूलो आवाज त्यसमाथि आफ्नै अभिनय धेरै मान्छेसँग बसेर हेर्दा उनीहरू दंग थिए। आफ्नो फिल्मको सिन (वसन्त) मा कहिले दर्शक हाँसेको सुनिन्थ्यो, दिनेश पनि उनीहरूसँगै हाँसिदिन्थे। उनलाई त्यो माहोल अचम्म लागिरहेको थियो।
हल जानुअघि निकै उत्साहित भएकी कञ्चन पनि आफ्नै फिल्म हेरेर हाँसिन र, रोइन पनि। ‘म आफैं आफ्नो फिल्म हेरेर रोएँ। पटक पटक आँखा भिजिरह्यो,’ फिल्म हेरेर हलबाट निस्केपछि उनले भनिन्।
यस्तै, क्षितिज गाउँ छँदा टेलिभिजनमा फिल्महरू हेर्थे। हल जानुअघि निकै उत्साहित भएका क्षितिजलाई सुरुमा निकै अनौठो लाग्यो। पहिलोपटक हल देख्नु, त्यसमाथि आफ्नै फिल्म हेर्न पाउँदा निकै मज्जा मान्दै थिए उनी। प्रिमियरमा सबैले दिएको प्रतिक्रियाले गदगद भए, त्यसैले त यसलाई बिर्सनै नसक्ने पल मान्छन् उनी।
क्षितिज लिम्बु
उनीहरूसँग अरू कलाकार पनि थिए। मल्लिका श्रेष्ठ, विशा राई। सबैलाई यो क्षण सपनाजस्तो बनिरहेको छ। उनीहरू कसैले पनि सोचेका थिएनन्, फिल्म बन्छ र आफूहरू कलाकारमा दर्ज हुन्छौं भनेर।
उनीहरुले यसो सोच्नु पछाडिको कारण छ। फिल्म पाँच वर्षअघि नै सुटिङ भएको थियो। तर, प्रदर्शन हुन सकेको थिएन। त्यसैले। उनीहरूलाई लाग्थ्यो- अब बन्दैन फिल्म। बेकारमा झुक्काएछ।
जिल्ला एउटै भए पनि गाउँ फरक। त्यसैले सबैको भेट हुन सकेको थिएन सुटिङ सकेपछि। पाँच वर्षपछि फिल्मकै कारण छूटेका साथीहरू एकैठाउँमा भेटिए।
‘सबै ठूला भइसकेछौं। धेरै कुरामा परिवर्तन भइसकेछ,' कञ्चन भन्छिन्।
कञ्चन चिमोरिया (लक्ष्मी)
उनीहरूको स्मृतिमा पुराना दिनहरू फर्किएर आएका छन्। धमिला हुँदै गएका सम्झनाहरू ताजा हुँदैछन्। र, उनीहरू सुनाउन लालयित छन्, खुसीले भरिएका ती रमाइला प्रसंगहरू।
कसरी छानिए उनीहरु ?
२०७५ सालको भदौ महिना। कथाअनुसारको पात्र खोज्नकै लागि फिल्म टिम संखुवासभा लाग्यो। पात्र छनोटका लागि विभिन्न विद्यालयमा गएर अडिसन लिनुपर्ने। संखुवासभाकै सूर्य बोडिङ माध्यामिक स्कुलमा कक्षा ९ मा पढ्थिन कञ्चन। शनिवार फिल्मको लागि अडिसन हुने कुरा थाहा पाइन उनले।
तर, शनिवार स्कुलकै प्रोजेक्टबाट विद्धाश्रम जानुपर्ने भयो। अडिसनमा आउन ढिला भइसकेको थियो। अडिसनको समय सकिएकाले कञ्चनले नजाने निधो गरिन्। तर, छिमेकी बहिनीले जाउँ भनेपछि उनी अडिसनको लागि विद्यालय पुगिन्।
खासै, संखुवासभातिर फिल्मको सुटिङ हुँदैन। त्यसैले कञ्चनका लागि फिल्म खेल्नु सपना जस्तै थियो। केही दिनपछि मात्रै आफू छनोट भएको खबर थाहा पाइन उनले।
छोरीको पढाई बिग्रिने डरले सुटिङमा पठाउन परिवारका सदस्य राजी भएनन्। तर, फिल्मको टिमले जसोतसो परिवारलाई मनायो। अनि कञ्चनको पोल्टामा पर्यो फिल्मको मुख्य पात्र विद्या।
दिनेश खत्री
सानो छँदा टेलिभिजनमा फिल्म हेर्थिन कञ्चन। फिल्म हेर्दा उनलाई लाग्यो-हिरो हिरोइनलाई त कति मजा । नयाँ नयाँ लुगा लगाउन नि पाइने कति रमाइलो हुन्छ होला!
तर आफूले फिल्म खेल्दा सोचेभन्दा ठ्याक्कै विपरित भयो।
‘रमाइलो त कहाँ हो कहाँ। झन परालको भारी र मलको डोको बोक्नुपर्यो। घर पोत्नेदेखि घाँस समेत काटे,’ उनले भनिन्।
फिल्ममा अर्का मुख्य पात्र बसन्त अर्थात दिनेश खत्री। उनको फिल्मसँग जोडिएको प्रसङ्ग पनि रोचक छ। आठ वर्षीय दिनेश त्यतिखेर रामेश्वर स्कुलमा कक्षा ४ मा पढ्थे। एकदिन साथीहरू विद्यालयबाहिर लाइनमा लागे। उनी साथीहरूको पछि अन्तिमतिर लाइनमा बसे। फिल्म युनिटले सबैको फोटो खिचेर लगे। दिनेशलाई भने किन फोटो खिचियो, थाहा थिएन।
दिनेश खत्रीको अनुहार लेखक सुजितलाई आफ्नो बाल्यकालको फोटोसँग मिल्ने जस्तो लाग्यो। अनि दिनेशलाई नै वसन्त बनाउने बारे उनले सोचे। भोलिपल्ट विद्यालय पुग्दा दिनेश भेटिएनन्। पछि बाटोमा दिनेशलाई गुच्चा खेलिरहेको भेटे। फिल्म टिमले कुरा गर्न खोज्दा काकाले दिनेशलाई समातेर लगे। त्यसबेला गाउँमा बच्चा चोर्ने बिगबिगी थियो।
अन्तत : दिनेशलाई खोज्दै उनीहरू घरसम्म पुगे। दिनेशका आमाबुवाले फिल्म खेल्न पठाउन सुरुमा मानेनन्। बच्चा चोरेर लाने भनेर उनीहरूले उल्टै शंकाको दृष्टिकोणले हेरे। पछि बुवाआमालाई टिमले मनायो। अडिसन नदिएर नै दिनेश बसन्त क्यारेक्टरमा छानिए। त्यसैले त दिनेश आफूलाई सबैभन्दा लक्की मान्छन्। ‘अरुले अडिसन दिनुपर्यो। तर म यतिकै छनोट भए। म त सबैभन्दा लक्की नि,’ उनी हाँस्दै सुनाउँछन्।
सबै बालबालिकाको यो डेब्यू फिल्म हो। यस फिल्मले आफूहरूको जीवनमा निकै परिवर्तन ल्याएको बताउँछन् उनीहरू। पहिले खोई फिल्म आएको भन्दै जिस्काउने साथीहरू अहिले सेलिब्रेटी भयौँ भन्दै शुभकामना दिइरहेका छन्। जीवनले फड्को मारेको आभास हुँदैछ उनीहरूलाई। फेरि फिल्म खेल्न मन छ भन्ने प्रश्नमा सबैले एउटै स्वरमा भने, ‘यस्तै मौका पाएको खण्डमा काम गर्छौँ।’