PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आफ्नै वचन तोडेर धनराजले चलाए पोखरामा डोजर, विकल्प नदिइ ‘बेघर’ बनाइए कलाकार!



रिना थापा

आफ्नै वचन तोडेर धनराजले चलाए पोखरामा डोजर, विकल्प नदिइ ‘बेघर’ बनाइए कलाकार!

पोखरा : पोखराका चहलपहल हुने क्षेत्रमध्येको एक महेन्द्रपुलको साँघुरो छेउमा रहेको पोखरा आर्ट ग्यालरीमा हिजोसम्म कला प्रदर्शनीको रौनक थियो। हरेक वर्ष जस्तै यसवर्ष पनि सिजर्नशील कलाकार समूहले भदौ १० गतेदेखि २५ गतेसम्मका लागि ‘इटर्नल लाइन्स’ सामूहिक कला प्रदर्शनी गरिरहेको छ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा प्रदर्शनमा आएको सो प्रदर्शनीमा आज एकाएक नैराश्यता छाएको छ। प्रर्दशनी कार्यक्रम उद्घाटन गर्दै आर्चायले ग्यालरीको उचित व्यवस्थापन नगर्दासम्म सो स्थानबाट ग्यालरी नहटाउने आश्वासन दिएका थिए। तर, आफैँले दिएको आश्वासनमाथि प्रमुख आचार्यले आज बिहान डोजर चलाए।

पोखराको एक मात्र आर्ट ग्यालरी हो महेन्द्रपुलमा रहेको ग्यालरी। समय-समयमा हुने कला प्रर्दशनीले पोखराको कला र साहित्यको प्रवर्द्धन गरिरहेको थियो। साँघुरो स्थानबाट भएपनि पोखराले साहित्यको प्रवर्द्धन गरिरहेको थियो।

पोखरा आर्ट ग्यालरीको ठ्याक्कै बाटो पारी छ पोखराको एक मात्र सार्वजनिक पुस्तकालय। त्यसमा पनि महानगरले डोजर चलायो। विकल्प बिनानै महानगरले डोजर चलाउँदा निराश छन् पोखरेली कलाकार र साहित्यकार।

बाल्यकालबाटै भावना जोडिएको भवन एक्कासी भत्किँदा बेघर महसुस गरेको बताउँछिन् कलाकार हेमकान्ती गुरुङ।

‘बच्चैदेखि बाट देखेको भवन ग्यालरी बन्ने बेलामा खेलीखेली हुर्केको ठाउँ हो। अहिले यत्तिकै भवन बन्दा त केही गएको जस्तो लागेको छ,’ गला भारी गर्दै हेमकान्तीले भनिन्, ‘मेरो बाबा र अरु आफूले नै इट्टा सिमेन्ट बोकेर निर्माण गरेको हो। हामीले पैसा मिसाएर बनाएका हौँ। यसमा धेरै यादहरु छ। मलाई चित्त नबुझेको चाहिँ टाइम हुँदाहुँदै पनि अन्य स्थानमा भवन निर्माण भएन बेघर नै बनाइदिने हामीलाई?’

महानगरकै स्वमित्वमा रहेको उक्त भवन भत्काउने निर्णय भने अहिले भएको होइन। तत्कालिन नगर प्रमुख मानबहादुर जिसी हुँदा २०७५ चैतमा बसेको कार्यपालिका बैठकले निर्णय गरेको थियो पुस्तकालय र आर्ट ग्यालरी सार्ने।

२०५६ सालमा बनेको सो भवन जीर्ण रहेकाले भत्काएर त्यसलाई अन्य प्रयोजनका लागि प्रयोग गर्ने महानगरको निर्णय थियो। ग्यालरी र पुस्तकालय सार्न उचित व्यवस्थापन भएपछि मात्र भवन भत्काउने निर्णय महानगरको थियो।

साढे तीनवर्ष बितिसक्दा पनि न महानगरले आर्ट ग्यालरी र पुस्तकालयको विकल्प खोज्न सक्यो न त भवन भत्काउन नै। तर, आज प्रमुख आचार्यले आफ्नो घोषणा विपरित विकल्प बिना नै भवन भत्काए। जसले गर्दा अहिले पोखरेली कलाकार कला प्रदर्शनीका लागि ‘बेघर’ भएका छन्।

महानगरले स्थाई व्यवस्थापनको काम सुरुवात नै गरेको छैन। केवल आश्वासन मात्र पाएका छन् कलाकारहरुले। यसैमा चित्त दुःखाई छ उनीहरुको।

‘पहिल्यैबाट नै भन्दै आएको कुरा हो यो। सरकारसँग समय पनि थियो अनि अहिले बल्ल आएर पोखराको पृथ्वीचोकमा रहेको पुरानो गोलघरमा भवन निर्माण गरेर ग्यालरी राख्ने भन्ने? त्यो गर्नको लागि समय लाग्ने भयो। त्यत्तिन्जेल हामीले के गर्ने? ग्यालरी नहुने बेला प्रर्दशनी कहाँ गर्ने?,’ उनले आक्रोश पोखिन्।

संरचना नहटाउने आश्वासन दिएका प्रमुखले संरचना हटाउने निर्णय गरेपछि कलाकारहरु वडा ९ का वडाध्यक्ष भेट्न पनि पुगेको थिए। वडाध्यक्षले अस्थाई विकल्पको रुपमा नयाँबजारको समाज घर देखाइदिए। वडाध्यक्षले नयाँ भवन नबन्दासम्म सडकमा नै प्रदर्शनी गर्न सहयोग गर्ने प्रतिक्रिया दिएको हेमकान्तीको भनाइ छ।

‘वडाध्यक्षसम्म कुरा गर्नको लागि पनि गएका थियौँ तर त्यतिन्जेलसम्म समाज घरमा सामान राखेर गर्न सक्नुहुन्छ। प्रदर्शनीको लागि सडकमा खुलारुपमा गर्न सक्नुहुन्छ हामी सहयोग गछौं,’ वडाध्यक्षको भनाइ उद्धत गर्दै उनले भनिन्।

आफ्नै स्वामित्वमा रहेको भवन महानगरले अन्य प्रयोजनका लागि भत्काउन पाएपनि आर्ट ग्यालरी र पुस्तकालयलाई स्थायी रुपमा व्यवस्थापन नगरेकोमा आक्रोशित छन् कलाकारहरु। उनीहरुकै विचारमा सहमत छन् लेखक गनेश पौडेल पनि।

‘यो कुरा पहिलैबाट चलेको हो तर विद्यालय आर्ट ग्यालरी पुस्तकालय भनेको यी नागरिक र शहरको अत्यावश्यक चिजहरु हुन् यीनिहरुलाई विकल्पविहीन भत्काइन्न्। कुनै एउटा स्कुलले अतिक्रमण गरेर बच्चा पढाइराखेको छ भत्काइदिने बच्चाहरुलाई अलपत्र पारिदिने भोलि म पढ्न कहाँ जाने? अथवा कलाकार हुँ मलाई एउटा आर्ट डिस्प्ले गर्न पर्‍यो भने म कहाँ जाने नागरिकले चन्दा उठाएर बनाएको हो नाफा कमाउन बनाएको होइन,’ उनले आक्रोश पोखे।

महानगरले आफ्नो छुट्टै आर्ट ग्यालरी र पुस्तकालय भत्काएर नबनाइ संरचना भत्काउन गलत रहेको भनाइ राख्छन् उनी।

‘पोखरा भवनमा व्यवस्थापन गरिने छ’

साढे तीन वर्ष अगाडिको निर्णय हो पोखरा महानगरको पोखरा आर्ट ग्यालरी र पुस्तकालय अन्य स्थानमा स्थान्तरण गर्ने। संरचना नभत्काउँदा विकल्प खोज्नुपर्ने महानगरले डोजर चलाइसकेपछि विकल्पको बाटो देखाएको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार ग्यालरी र पुस्तकालयका लागि पृथ्वीचोकमा नयाँ भवन ‘पोखरा भवन’ बनाइने तयारी छ।

‘पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ। त्यसको भुईँ तलामा सूचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ। यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ,’ महानगर प्रमुख आचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell