PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय कार्यान्वयनका लागि लडिरहेको छु : प्रचण्ड



पहिलोपोस्ट

जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय कार्यान्वयनका लागि लडिरहेको छु : प्रचण्ड
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन्।

अध्यक्ष प्रचण्डभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कांग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए। सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भने, ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो? तपाई त्यो आदर्शमा किन लाग्नुभएन? नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र? अनि अहिले कांग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई। मेरो विचारमा मिल्दैन।’

अध्यक्ष प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्वयन नभएको बताए। उनले सो निर्णय कार्यान्वयनका लागि लडाइँ गरिरहेको बताए। उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे।

‘प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काट्ने कुरा थियो। अहिले पनि माओवादी अस्थिरताको कारक हो। प्रचण्ड रहँदासम्म यो देश अप्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ। मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई। अवसरवादीहरुलाई। म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भइनै राखेको छ। म अन्तिम समयसम्म संघर्षमा रहनेछु,’ उनले भने।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गरे। उनले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए। नेपाली कांग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाइ थियो।

उनले भने, ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ? तपाईहरुले मूल्यांकन गर्नुस्। आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन। त्यसकारण म अनुरोध गर्छु, तपाईहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस्। अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ। तर, नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ। यसलाई सच्याउन म अनुरोध गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell