कैलाली : आगामी महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन्। प्रतियोगिताका ३६ मध्ये ३३ खेलमा सहभागी हुने सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलाडी छनोटका लागि १ हजार २ सय ८३ पुरुष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषद्ले जानकारी दिएको छ।
यी मध्येबाट ७०९ जना खेलाडी गण्डकी जान छनोट हुने परिषद्ले जानकारी दियो। यसमध्ये १९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने र सोझै छनोट हुने भएका छन्।
असोज २८ देखि कात्तिक ३ गतेसम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो। आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ।
नवौँमा यस प्रदेशबाट अन्तर्राष्ट्रिय, स्थानीय रेफ्री र निर्णायक गरी ४७२ जना अन्य खेल पदाधिकारी सहभागी हुनेछन्। नवौँका लागि जम्मा १ हजार ४ सय ८१ जनाको टोली गण्डकी जानेछ।
अन्य केही प्रदेशमा भने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी केही अघिदेखि नै सुरु भएपनि बजेट ढिलो प्राप्त भएकाले सुदूरपश्चिममा खेलाडी छनोटमा ढिलाइ भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले बताए।
‘बजेटमा खेलकुदलाई निकै बेवास्ता गरेजस्तो महसुस भएको छ, बजेट अभावका कारण सधैँ समस्या पर्ने गरेको छ,’ उनले भने।
यस वर्ष प्रदेश सरकारले नवौँ खेलकुदमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने भएको छ।