PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धपेडीबाट जोगिन सिकाउने जीवन कुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक



पहिलोपोस्ट

धपेडीबाट जोगिन सिकाउने जीवन कुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

काठमाडौं : लेखक जीवन कुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरी सरल भाषामा व्याख्या गरेको छ।

ठूला चाडपर्वहरु नजिकिँदै गर्दा खानपिनदेखि वस्तुहरुको धेरै संकलनमा सबैको ध्यान केन्द्रित हुने गर्छ। उक्त ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको सुखमय जीवनकै सेरोफेरोमा पुस्तक केन्द्रित छ।

प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन्। उनले अढाइ दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।

उनले अमेरिकाको नेसनल इन्स्टिट्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन्। खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन्। उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन्।

वैज्ञानिक अध्ययन अनुसन्धानबाट फेलापरेका तथ्यहरुलाई हाम्रो मौलिकतासँग जोड्दै सरल भाषामा बुझाउन सक्नु नै लेखक प्रसाईको विशेषता हो। स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने तरिकाहरु उनका पुस्तकमा पाइन्छन्।

प्रसाईंका अनुसार पछिल्लो समय अस्पताल र औषधिको पहुँच बढ्दै गएता पनि त्यस अनुसारको आरोग्यता बढ्न सकेको छैन। त्यसमाथि धेरैभन्दा धेरै पैसा पद अनि धन आर्जन र संग्रह गर्ने प्रवृत्तिले सबैको जीवन धपेडी र असुरक्षाको भयमा रहेको उनको भनाइ छ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बिचको सन्तुलनमा टिकेको हुन्छ’, लेखक प्रसाईं भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ।’

पुस्तकमा यिनै कुराहरु वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामर्थ्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न उनले गरेका छन्।

‘प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ’, लेखक प्रसाईं भन्छन्, ‘त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अंकुरण अनि प्रस्फुरण हुने तत्वहरु लुकेका हुन्छन्। जब हामी अनावश्यकबाट मुक्त हुन्छौँ, हाम्रो भौतिक अनि आत्मिक उन्नती सुरु हुन्छ।’

दुई सय २८ पृष्ठ लामो ‘धेरैको धपेडी’ पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell