PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

कप्तान सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन



पहिलोपोस्ट

कप्तान सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन
फाइल फोटो

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले नाबालिगमाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भइसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो।

नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अदालतको अनुमतिमा प्रहरीले पूर्जी जारी गरेको हो।

लामिछाने लिग क्रिकेट खेल्न अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

क्यान पदाधिकारीसँग कुरा गर्दै सन्दीपले आफ्नो बचाउ गरेका छन्। साथै कानुनी सहायता माग गरेका छन्। यस्तै, लिग सकेपछि मात्रै नेपाल फर्कने जानकारी उनले क्यानलाई दिएका छन्।

लामिछानेविरुद्ध महानगरीय प्रहरी वृत गौशालमा जबर्जस्ती करणीमा उजुरी परेको छ। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको भन्दै उजुरी परेको हो।

स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell