PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मकवानपुर २ को चुनावी चर्चाः गुरु चेलाको होला त भीडन्त?



निशा गुरुङ

मकवानपुर २ को चुनावी चर्चाः गुरु चेलाको होला त भीडन्त?

हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। अहिले दलहरु धमाधम उम्मेदवार सिफारिस गर्दैछन्। समानुपातिकतर्फ बन्दसूची बुझाउने मिति नजिकिँदै छ। प्रत्यक्षको मनोनयन पनि अब एक महिनामात्र बाँकी छ। आकांक्षीहरु लबिङमा लागिरहेका छन्।

मकवानपुरमा पनि दलहरुले धमाधम नाम सिफारिस गरिरहेका छन्। मकवानपुरमा प्रतिनिधि सभाका २ र प्रदेश सभाका २ क्षेत्र छन्।

मकवानपुर २ लाई योपटक रोचक प्रतिस्पर्धा हुने क्षेत्रका रुपमा समेत हेरिएको छ। सत्ता गठबन्धनमा आवद्ध सबै दलले उक्त क्षेत्रमा दाबी गरेका छन्। कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीले उक्त क्षेत्रमा दाबी गरेका छन्। यसअघि जितेका क्षेत्र सम्बन्धित दललाई दिने मापदण्डका आधारमा भने एकीकृत समाजवादीका विरोध खतिवडा मुख्य दाबेदार हुन्।

खतिवडा मकावानपुर २ बाट २०४८, २०५१ ,२०५६ र २०७४ को संसदीय निर्वाचनमा विजयी भइसकेका छन्।

यसअघि नेकपा एमालेबाट निर्वाचन जित्दै आएका खतिवडा पहिलोपटक फरक पार्टीको झण्डा लिएर एमालेसँगै प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

एमालेबाट ४ पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका उनले एमाले त्याग्नेबित्तिकै मन्त्री बन्ने मौका पाएका थिए। मन्त्री बन्नकै लागि उनले एमाले त्यागेर समाजवादी रोजेको भन्दै गृह जिल्लामा विरोध पनि भएको थियो। लगातार जित्दै आएका उनी पुनः सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा होमिने तयारीमा छन्। गठबन्धनबाट पुनः चुनाव जित्ने उनको दाउ छ तर एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौतीपूर्ण भने छ।

एमालेले गठबन्धनलाई परास्त गर्न युवा अनुहार अघि बढाउने रणनीतिमा छ।

एमालेले उक्त क्षेत्रमा तीन जनाको नाम सिफारिस गरेको छ। विद्यार्थी राजनीतिबाट पार्टीमा लागेका वाग्मती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौला, संविधानसभा सदस्य सुवास ठकुरी र बुद्धरत्न मानन्धरको नाम एमालेले सिफारिस गरेको हो।

सिफारिसमध्ये बर्तौलाले टिकट पाउने सम्भावना बढी रहेको एमाले मकवानपुरमा नेताहरु बताउँछन्।

विगतमा एउटै पार्टीमा गुरु चेलाका रुपमा रहेका उनीहरुको चुनावी भीडन्तको सम्भावना बढी रहेको नेताहरु बताउँछन्। महेशले विरोधलाई सिनियरका रुपमा गुरु मान्ने गरेका छन्।  

+++

एकीकृत समाजवादीका तर्फबाट मकवानपुरमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनाव लड्ने विरोध एकल दाबेदार हुन्। तर समाजवादीको उपस्थित उक्त क्षेत्रमा बलियो भने छैन। मकवानपुर २ मा थाहा नगरपालिका, मनहरि, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकासहित हेटौंडा उपमहानगर पश्चिमतर्फका १, ३, ११ र १९ मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन्। गत स्थानीय तहको निर्वाचनमा पनि एकीकृत समाजवादीले त्यस क्षेत्रको कुनै पनि पालिकामा आफ्नो नेतृत्वलाई जिताउन सकेन। २०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रको सहयोगमा हेटौंडाको मेयर र एउटा वडामा मात्र समाजवादीले जित निकालेको छ। मनहरि गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार पराजित भए।

मकवानपुर २ मा गठबन्धनका अन्य दुई दल कांग्रेस र माओवादी केन्द्रको उपस्थिति तुलनात्मक रुपमा राम्रो रहेको बताइन्छ। संघीय सरकारका मन्त्रीसमेत भइसकेका खतिवडाको त्यस क्षेत्रमा व्यक्तिगत उपस्थिति भने बलियो नरहेको दलकै नेता कार्यकर्ताहरु स्वीकार गर्छन्।

खतिवडालाई निर्वाचन जित्न कांग्रेस र माओवादी केन्द्रको दरिलो साथ अनिवार्य देखिन्छ। उक्त क्षेत्रमा एक प्रतिस्पर्धामा भने एमाले बलियो स्थितिमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell