PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

फ्राइडे रिलिज: दुई नेपाली फिल्मसँग भिड्दै दुई विदेशी फिल्म 



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली फिल्मसँग भिड्दै दुई विदेशी फिल्म 

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’,‘गोर्खा’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘ब्रह्मास्त्र’ र दक्षिण भारतीय फिल्म ‘सीता रमम’ रिलिज भएका हुन।

सुजित बिडारीको लेखन तथा निर्देशन फिल्म ‘ऐना झ्यालको पुतली’ ले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई कथा समेटेको छ। फिल्ममा सिरु बिष्ट, कञ्चन चिमोरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सिरुबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्।

त्यसैगरि, आजैबाट रिलिज भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित छ। कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई फिल्ममा प्रस्तुत गरिएको छ।

प्रदीप शाही निर्देशित यस फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतका कलाकारहरूको अभिनय छ।

बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ आजबाट विश्वभरि नै प्रदर्शनमा आएको छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। अयान मुखर्जी निर्देशित यस फिल्ममा रणवीर र अलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारहरूको अभिनय छ। यो फिल्म हिन्दी,तमिल, तेलुगु, मलयालम र कन्नडसहित पाँच भाषामा एकसाथ रिलिज भएको छ।

त्यस्तै, दक्षिण भारतीय फिल्म ‘सीता रमम’ पनि आजबाट नेपालमा रिलिज भएको छ। हनु राघवपुडी निर्देशित यस फिल्ममा दुलकर सलमान, मृणाल ठाकुर र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको छ। तेलुगुमा मृणालको यस डेब्यु फिल्मको कहानी ६० को दशकमा आधारित छ। दक्षिण भारतमा ५ अगस्टमा रिलिज भएको यो फिल्म हिन्दी भाषामा भने गत साता मात्रै रिलिज भएको थियो। आजै यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा पनि रिलिज भएको छ।

आज रिलिज भएका यी फिल्ममध्ये बलिउड फिल्म 'ब्रह्मास्त्र' लाई मल्टिप्लेक्स हलहरूले उच्च शो दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell