PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

‘लन्डन ब्रिज इज डाउन’ : एलिजाबेथको निधनसँगै अब सिक्का र नोटमा राजा चार्ल्सको तस्विर, अरु के के परिवर्तन हुनेछ?



पहिलोपोस्ट

‘लन्डन ब्रिज इज डाउन’ : एलिजाबेथको निधनसँगै अब सिक्का र नोटमा राजा चार्ल्सको तस्विर, अरु के के परिवर्तन हुनेछ?
Photo : istock

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएसँगै उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिएका छन्। यससँगै बेलायती राजपरिवारका सदस्यहरुले  शाही पदवी पनि परिवर्तन भएको छ। अब बेलायती राज गद्दीको उत्तराधिकारी बनेका छन् प्रिन्स विलियम।  

बेलायती महारानीको निधन भएको खबरलाई ‘लन्डन ब्रिज इज डाउन’ भनेर प्रधानमन्त्री लिज ट्रसलाई जानकारी गराइएको थियो। त्यसपछि बेलायतको परराष्ट्र मन्त्रालयले कमनबेल्थ नेताका साथै अन्य देशलाई एलिजाबेथको निधनबारे औपचारिक जानकारी दिएका थिए।

७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथको निधनसँगै बेलायतमा राजसंस्थाको नेतृत्वमात्रै परिवर्तन भएको छैन। अब बेलायतको राष्ट्रगानदेखि नगदसमेत परिवर्तन हुनेछ। बेलायतमा सबैभन्दा लामो शासन गरेकी एलिजबेथको ‘तस्विर’ त्यहाँका नागरिकका लागि जीवनशैली नै बनिसकेको थियो। ‘गड सेभ दी क्विन’ भनेर राष्ट्रगानमा होस् या नोटहरुमा। जहाँ त्यहीँ एलिजाबेथ हुन्थिन्। ७० वर्षपछि अब सबै परिवर्तन हुनेछ।

शनिवार चार्ल्स तृतीय बेलायतका नयाँ राजाका रुपमा आधिकारिक रुपमा घोषणा भएपछि बेलायतको राष्ट्रिय गान परिवर्तन हुनेछ। पहिला ‘गड सेभ दी क्वीन’को ठाउँमा अबबाट ‘गड सेभ दी किङ’ शब्दसहित राष्ट्रिय गान बज्नेछ।

एलिजाबेथको निधनसँगै चार्ल्स कमनबेथल राष्ट्र (ती देश जसले बेलायतको राष्ट्रप्रमुखलाई आफ्नो देशको राष्ट्रप्रमुखको मान्यता दिएको छ)को राष्ट्रप्रमुख बनेका छन्।

बेलायतमा एलिजाबेथको तस्विर अंकित सबै कुरा अब परिवर्तन हुनेछ। त्यसमा अब राजा चार्ल्स तृतीयको तस्विर हुनेछ। बेलायतका सिक्का र नोटमा रहेको एलिजाबेथको तस्विरको ठाउँमा अब चार्ल्सको तस्विर राख्नुपर्नेछ। यसको तयारी बेलायत सरकारले पहिलैदेखि गरेको थियो। केहीसमय एलिजाबेथको तस्विर अंकित नोट र सिक्का नै प्रयोगमा रहनेछ। विस्तारै नयाँ सिक्का र नोट चलनचल्तीमा आएपछि एलिजाबेथको तस्विर अंकित नगद विस्थापित गरिनेछ।

यस्तै, बेलायतको ‘स्ट्याम्प’ पनि अब परिवर्तन हुनेछ। हुलाकमा एलिजाबेथको तस्विर प्रयोग हुँदै आएको थियो। अब भने चार्ल्सको तस्विरसहितको ‘स्ट्याम्प’ प्रयोगमा ल्याइनेछ।

बेलायतको राहदानी (पासपोर्ट) पनि परिवर्तन हुनेछ। पासपोर्टमा एलिजाबेथलाई सम्बोधन गर्दै ‘हर मेजेस्टी’ उल्लेख छ। अब त्यसको ठाउँमा ‘हिज मेजेस्टी’ उल्लेख हुनेछ। यो नियम मिति सकेको पासपोर्टको हकमा लागू हुने जनाइएको छ।

महारानी एलिजाबेथ चर्च अफ इंग्ल्याण्डकी संरक्षक थिइन्। त्यहाँको प्रार्थनामा महारानीको सम्बोधन गर्ने शब्दहरु छन्। अब ती शब्दलाई पनि परिर्वतन गर्नुपर्नेहुन्छ।

यस्तै, बेलायतको निशान छाप र प्रहरी, सेनाले प्रयोग गर्ने झण्डा पनि परिवर्तन हुनेछ। नयाँ राजा चार्ल्स तृतीयले वेल्सलाई प्रतिनिधित्व गर्ने निर्णय गरेमा निशान छापसँगै झण्डामा प्रयोग हुँदै आएको राजसंस्थाको प्रतिक चिह्न पनि परिवर्तन हुनेछ।

यी सबै परिवर्तनका लागि बेलायतलाई ठूलो धनराशी आवश्यक पर्ने विश्लेषकहरुले बताएका छन्। यो परिवर्तनलाई आफ्नो जीवनशैलीमा ढाल्न बेलायतीहरुलाई केही समय लाग्ने उनीहरुको मत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell