![गठबन्धन सरकारले चुच्चे नक्सा गायब पारेको ईश्वर पोखरेलको आरोप, 'छिमेकीसँग आँखा जुधाएर कुरा गर्छौं'](https://pahilopost.com/assets/upload/contentthumb/x1-DSC_4533.JPG.pagespeed____.ic____.SWsZ7horq-__3__.jpg)
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको बताएका हुन्।
‘गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ। त्यसमा चुच्चे नक्सा छैन, चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ। यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने? यस्ता कुराहरु जनताले बुझ्नुपर्छ। देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने, कुरा के हो यो?,’ उनले प्रश्न गरे।
पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए। उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोपसमेत लगाए।
अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै उनले नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकार लागेको आरोप पनि लगाए।
पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे। उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा नगर्ने समेत बताए।
‘हामी केपी ओलीको नेतृत्वमा आगामी सरकार बनाउँछौँ। यो उद्घोष गरिसकेका छौँ। राष्ट्रिय विकास र समृद्धिको योजनमा केन्द्रित हुन्छौँ। छिमेकीसँग लडाईं गर्ने भनेर नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्दैनौँ। तर छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्छौं। हामी नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न चाहँदैनौं,' उनले भने।