PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

साफ यू १७ पुरुष च्याम्पियनसिप : दोस्रो जितको खोजीमा रहेका नेपाल र भारत आज भिड्दै



पहिलोपोस्ट

साफ यू १७ पुरुष च्याम्पियनसिप : दोस्रो जितको खोजीमा रहेका नेपाल र भारत आज भिड्दै
फाइल फोटो

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा खेल दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ।

‘पहिलो खेलमा खेलाडीले धेरै दबाब महसुस गरे। भुटानसँगको नतिजाबाट सन्तुष्ट छैन’, भुटानसँगको खेलपछि नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले भनेका थिए, ‘भारत राम्रो टोली छ। खेलको रणनीति केही परिवर्तन हुनेछ। दुई खेलाडीले चोट ब्यहोरेका छन्। रिकभर हुन्छन् होला।’

भारतले पनि पहिलो खेलमा भुटानलाई हराउँदै सुखद सुरुवात गरेको थियो। प्रतियोगिताको समूह ‘बी’मा नेपाल, भारत र भुटान छन्। भुटानले पहिलो खेलमा भारत र दोस्रो खेलमा नेपालसँग पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल र भारत भने सेमिफाइनलमा स्थान बनाइसकेका छन्। आज हुने खेलमा विजयी टोलीले समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।

भारतीय टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले लगातार जित निकाल्दै टिमको मोमेन्टम कायम राख्न चाहेको बताएका छन्।

‘खेल जितिरहनु धेरै महत्त्वपूर्ण छ। जितले आत्मविश्वास बढ्छ। नकआउट चरण अप्रत्याशित हुन सक्छ र त्यसैले हामी जितको गति र आत्मविश्वासका साथ सेमिफाइनलमा जान चाहन्छौँ’, भारतीय टोलीका प्रशिक्षक फर्नान्डेजले भनेका छन्, ‘हाम्रो लक्ष्य च्याम्पियनसिप जित्ने हो, त्यसैले हामी त्यो लक्ष्यबाट ध्यान गुमाउन सक्दैनौँ। हामी प्रत्येक खेललाई जित्ने मानसिकताका साथ हेर्न चाहन्छौँ।’

उनले अगाडि भनेका छन्, ‘नेपाल केही प्रभावशाली व्यक्तिगत खेलाडीका साथ राम्रो टिम हो। समूहको शीर्ष स्थानको टुंगो लाग्न बाँकी छ, हामी पक्का छौँ कि उनीहरूले पनि हामीविरुद्ध जित्न चाहन्छन् र हामी उनीहरूलाई सहज रूपमा लिने छैनौँ।’

भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० ले हराएको थियो भने नेपालले २-१ गोलअन्तरले भुटानलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell