
बेलायतमा महारानी एलिजाबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन भयो। ७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथ बेलायतको इतिहासकै सबैभन्दा लामो समयसम्म सिंहासनमा बस्ने रानी हुन्। उनको निधनसँगै जेठा छोरा चार्ल्स अब बेलायतका राजा बनेका छन्।
७० वर्ष राजगद्दीमा बसिरहँदा एलिजाबेथबारे धेरै फिल्महरु बनेका छन्। त्यसैले पनि उनलाई साँस्कृतिक आइकनको रुपमा हेरिन्छ। त्यतिमात्रै उनको बारेमा बनेका धेरै फिल्मले अस्कर पनि जितेका छन्।
एनिमेटेड कमेडी ‘द सिम्पसन्स’ मा पनि रानी एलिजाबेथको पात्र थियो। यस कमेडीको २७ सिजनमा ट्रेस म्याकनेल, एडी इजार्ड र म्यागी रोजवेलले शाही व्यक्तित्वको एनिमेटेड चित्रणमा आफ्नो आवाज दिएका छन्। त्यसैगरी, एम्मा थम्पसन पनि टेलिभिजन नाटक ‘वाकिङ द डग्स्’ मा रानी एलिजाबेथको भूमिकामा देखिएकी छिन्।
नाटक ‘द अडियन्स’ मा आधारित नेटफ्लिक्सको श्रृंखला ‘द क्राउन’ मा रानी एलिजाबेथको चित्रण गरिएको छ। यस शोले रानी एलिजाबेथ द्वितीयको प्रारम्भिक शासनकालदेखि आधुनिक समयसम्मको जीवनलाई समेटेको छ। अभिनेत्री क्लेयर फोयले रानीको भूमिकाबाट गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स अवार्ड जितेकी थिइन्।
सन् २००५ मा क्रिस्टिन स्कट थोमसले पनि एलिजाबेथ रानीकै चरित्र निर्वाह गरेकी थिइन्। त्यस्तै, सारा गाडोन पनि सन् २०१५ मा रोमान्टिक कमेडी ‘अ रोयल नाइट आउट’ मा एक जवान राजकुमारी एलिजाबेथको भूमिकामा देखिएकी थिइन। सन् २०१० मा अस्कर विजेता फिल्म ‘द किंग्स स्पीच’ मा फ्रेया विल्सनले एलिजाबेथको भूमिका निर्वाह गरेकी थिइन्।
जेनेट चार्ल्स धेरै फिल्ममा एलिजाबेथ बन्ने अभिनेत्री हुन्। रानी एलिजाबेथसँगको नजिकको सम्बन्धमा रहेकी चार्ल्सले ४० वर्षसम्म विभिन्न चलचित्रमा शाही उच्चतालाई प्रस्तुत गरिसकेकी छिन्। जसमा ‘अल यु निड इज क्यास’, ‘नेशनल ल्याम्पून्स् युरोपियन भ्याकेसन’, ‘क्विन कोङ’ आदि पर्छन्।
एमी र टोनी अवार्ड विजेता अभिनेत्री जेन अलेक्जेंडर पनि टेलिभिजन फिल्म ‘विलियम र क्याथरिन : अ रोयल रोमान्स’ मा रानी एलिजाबेथको भूमिकामा देखिएकी थिइन्।
त्यसैगरी, हेलेन मिरेन, ओलिभिया कोलम्यान इमेल्डा स्टनटन, म्यागी सुलिवान लगायतका अभिनेत्रीहरूले पनि रानी एलिजाबेथको भूमिका निर्वाह गरेका छन्।