
- फूलमान तामाङ-
चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकले १०९ औं बीपी जयन्तीको सन्दर्भमा पहिलो चरणको 'जनताको साथमा कांग्रेस अभियान' कार्यक्रमको समापन गरेको छ। शुक्रवार चौतारामा पार्टीका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा कांग्रेस केन्द्रका प्रतिनिधि केन्द्रीय सदस्य बहादुरसिङ लामाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बीपीको योगदान र त्यागलाई स्मरण गर्दै नेताहरुले श्रद्धा सुमन अर्पण गरे।
गठबन्धनको विपक्षमा जिल्ला नेताहरु, कसले के भने?
केन्द्रीय सदस्य बस्नेतले कांग्रेस जनताको समस्याको समाधान गर्न तत्पर रहेको बताए। 'सिन्धुपाल्चोक जिल्ला गठबन्धनले गर्दा नै चर्चा आएको हो। कांग्रेसले चाहेअनुसार सिट नपाए गठबन्धन टुट्छ। त्यसैले एक्लै चुनाव लड्नुपर्ने अवस्था आउन सक्छ सबै तयारी अवस्थामा बस्नुहोला,' बस्नेतले भने। आफू गत निर्वाचनमा पराजित भए पनि यसपटक जसरी पनि विजयी हुने बस्नेतको भनाई थियो। 'हारेको व्यक्ति चुनाव जित्न सक्छ हराएको मान्छेले कहिले चुनाव जित्दैन,' उनले भने। बस्नेतले पनि जिल्लामा पार्टी एक्लै चुनावमा जानेमा जोड दिए। 'कांग्रेस सिन्धुपाल्चोकसँग सिङ्गल चुनावमा भिड्ने तागत छ,' बस्नेतले भने।
जिल्लाको क्षेत्र १ को प्रत्यक्ष निर्वाचनमा अग्नि सापकोटाले टिकट पाउलान् या मोहन बस्नेतले? यो अहिले धेरैको चासोको विषय बनेको छ। यद्यपि कांग्रेसले क्षेत्र १ लाई कुनै हालतमा छाड्न नहुने धारणा राख्दै आएको छ। शुक्रवार पनि जिल्लाका नेताहरुले क्षेत्र १ कांग्रेसले नै पाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कांग्रेस जिल्ला सचिव एवं त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले सिन्धुपाल्चोकमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम भएको बताए। 'गठबन्धन चाहिदैन। मोहन बस्नेतलाई टिकट दिनबाट बन्चित नगरियोस् र अग्नि सापकोटालाई अन्तै एडजस्ट गरियोस्,' स्वागत गर्दै बोहोराले भने। चौतारा नगरपालिकाका कांग्रेस सभापति इन्द्रलोचन धितालले पनि गठबन्धन गर्न नहुने बताए। 'गठबन्धन नहोस्, हामीलाई गठबन्धनको आवश्यकता छैन। यहाँ हामी सिङ्गल निर्वाचनमा भिड्न सक्छौ। हामी मित्रवत प्रतिस्पर्धा गरौ केन्द्रले त्यो निर्णय गरोस् कांग्रेसप्रति न्याय पनि हुन्छ,' उनले भने। गठबन्धन गरेर क्षेत्र १ का नेता बस्नेतलाई ओझेलमा पार्न नहुनेमा उनको जोड थियो।
जिल्ला सभापति जंगबहादुर लामाले 'जनताको साथमा कांग्रेस अभियान' सफल पार्न खटेका सबैलाई बधाई तथा शुभकामना दिए। सभापति लामाले क्षेत्र १ कुनै पनि हालतमा कांग्रेसले पाउनुपर्नेमा जोड दिए। 'कांग्रेस सिन्धुपाल्चोकमा एक्लै चुनाव लड्छ,' लामाले भने, 'माओवादीलाई यो क्षेत्र नछोडियोस्। हामीलाई गठबन्धनको आवश्यकता छैन।'
यता पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापाले पनि क्षेत्र १ कुनै पनि हालतमा कांग्रेसले छाड्न नहुने बताए। 'बरु मलाई टिकट चाहिदैन। क्षेत्र १ मा मोहन बस्नेतलाई जसरी पनि टिकट पाउनु पर्छ,' थापाले भने। थापा जिल्लाको प्रतिनिधि सभा २ को प्रतिनिधि सभातर्फ प्रत्यक्षमा नाम सिफारिस भएका नेता हुन्।
गठबन्धनविरुद्ध नबोल्न बहादुरको निर्देशन
यता केन्द्रीय सदस्य बहादुरसिंह लामाले भने नेताहरुलाई केन्द्रको निर्णय विरुद्ध नबोल्न निर्देशन दिए। 'टिकट केन्द्रले जसले दियो त्यसैले पाउने हो,' लामाले भने, 'हामीले गठबन्धनको विरुद्ध पनि नबोलौ।' कांग्रेसले देशभर सत्ता सहयात्री दलसँग गठबन्धन गरेर निर्वाचनमा होमिने निर्णय यसअघि नै गरिसकेको छ।
जिल्लामा भातृ संगठन सक्रिय नदेखिएको उनको भनाई थियो। लामाले भातृ संस्थाहरुलाई सक्रिय बनाउन आग्रहसमेत गरे। लामाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई जिताउने उद्देश्यले आयोजना गरिएको अभियान यो जनताको समस्या बुझ्ने र सम्बोधन गरेर जनतालाई कांग्रेसप्रति आकर्षण गर्ने कार्यक्रम भएको बताए।