PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कति सुरक्षित छन् काठमाडौंका नाइट क्लब, लाखौं खर्चेर 'बाउन्सर' खटाउँदा पनि किन भइरहन्छन् घटना?



सविन ढकाल

कति सुरक्षित छन् काठमाडौंका नाइट क्लब, लाखौं खर्चेर 'बाउन्सर' खटाउँदा पनि किन भइरहन्छन् घटना?

काठमाडौं : बुधबार राति पौने १२ बजेतिर दरबारमार्ग वृत्तबाट डिएसपी कोपिला चुडालको नेतृत्वमा टोली राउन्डमा थियो। त्यतिकैमा दरबारमार्गमा रहेको क्लब प्लाटिनममा झडप भएको खबर आयो। प्रहरी टोली क्लबमा पुग्दा अवस्था भयानक बनिसकेको थियो। एकले अर्कोलाई प्रहार गर्दै थिए। प्रहरी कसलाई नियन्त्रणमा लिने कसरी कन्ट्रोल गर्ने भन्ने अन्योलमा थियो। क्लबको आन्तरिक सुरक्षामा खटिएका बाउन्सरको पनि केही चल्ने अवस्था थिएन।

केही घण्टापछि प्रहरीले अवस्था नियन्त्रणमा लियो। केहीको टाउको फुटेको थियो भने कोही चोटले ग्रस्त। स्थितिलाई नियन्त्रणमा लिन खटिएका प्रहरीको पोशाकसमेत च्यातिएको।

'एकछिन त स्थिति नियन्त्रण गर्न फायर नै खोल्नुपर्ने हो कि जस्तो पनि देखियो। एकले अर्कोलाई हानिरहेका थिए,' घटनाको नियन्त्रण गर्ने पुगेका एक प्रहरी अधिकृतले सुनाए।

घटनामा प्रहरीले १६ जनलाई नियन्त्रणमा लियो। ६ जना घाइतेलाई उपचारको लागि अस्पताल लगियो। जसमा एक गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाँकीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। बुधबार मध्यरातमा भएको घटनाले क्लबको सुरक्षामा नै प्रश्न उठाएको छ। आन्तरिक रुपमा ३० जनाभन्दा बढी बाउन्सर रहेको क्लबमा घटना हुनुले के काठमाडौँका नाइट क्लब सुरक्षित छन्? भन्ने प्रश्न उठाउँछ।

गत असारमा यही क्लबमा एक व्यक्तिमाथि कुटपिट भएको थियो। प्रतीक भाष्कर सिंहलाई गुन्डा नाइके कुलध्वज लामाले कुटपिट गरेको आरोप लागेको थियो। प्रहरीले लामालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

केही मान्छे क्लबमा रमाइलो गर्नेभन्दा पनि झगडा गर्ने मनसायले आउने गरेकाले कहिलेकाहीँ यस्ता घटना हुने गरेको क्लब प्लाटिनममा पूर्व सञ्चालक मचिन शाक्य बताउँछन्। उनी अहिले सोल्टी होटलको प्राइभका एडभाइजर छन्।

'क्लबभित्र हरेक मानिस आउँछन्। झगडा गर्नेहरूलाई रोकेर बाहिर निकाल्नको लागि बाउन्सर राखेका हुन्छौँ,' शाक्यले भने।

काठमाडौँमा खुलेका नाइट क्लहरुमा आन्तरिक सुरक्षालाई ध्यानमा दिँदै औसत २० देखि ५० जनासम्म बाउन्सर खटाइएको छ। उनीहरूको जिम्मेवारी भनेको क्लबभित्र हुने झैँ-झगडालाई नियन्त्रण गर्नु हो। त्यसो त सरकारले काठमाडौं उपत्यकाभित्रका रात्रिकालीन व्यवसायहरूलाई २४ सै घण्टा सञ्चालन गर्न सुरक्षा व्यवस्था प्रदान गर्नुपर्ने हुन्छ। तर प्रहरीको दरबन्दी पनि यसको चुनौती बनेको छ।

क्लबको सुरक्षामा बाउन्सर, महिनाको लाखौं खर्च

पछिल्लो समय काठमाडौंको ठमेलमा रहेको नाइट क्लब 'लर्ड अफ ड्रिङ्क्स' (एलओडी) सबैभन्दा धेरै युवा पुस्ताले रुचाएकोमा पर्छ। नेपालकै ठूलो संसारकै ५२औं उत्कृष्ट नाइट क्लबमा पर्न सफल भएको छ। अहिले क्लबको गुणस्तर र विश्वास जित्न त्यहाँको सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ। देशभित्रका मात्र होइन बाहिरबाट पनि भिआइपी व्यक्ति एलओडी पुग्ने गरेका छन्। जसको लागि झन् सुरक्षा चुनौती देखिन्छ।

एलओडीले सामान्य समयमा ४० देखि ५० जना आन्तरिक सुरक्षाको लागि बाउन्सर खटाउने गरेको छ। कुनै विषय कार्यक्रम र भिआइपी मानिस आएको समयमा ६० देखि ८० जनासम्म पनि बाउन्सर खटाउने गरेको क्लबका सिइओ रवीन श्रेष्ठले बताए।

'हामी क्लबमा मानिस छिराउँदा देखि नै गेटबाट चेक गर्छौँ। अनि क्लबको प्रत्येक ठाउँ-ठाउँमा बाउन्सर राखेका छौँ। त्यसो त केही भयो भने प्रहरीसँग पनि सम्पर्क भइरहेको हुन्छ,' सिइओ श्रेष्ठले भने।

काठमाडौँभित्रका धेरैजसो नाइट क्लब प्रहरी कार्यालय नजिकै छन्। खबर भएको पाँच मिनेटभित्र प्रहरी पुग्न सक्छ। रातीको समयमा सडक र नाइट क्लब लक्षित गरेर प्रहरी पनि खटिएका हुन्छन्। त्योभन्दा बढी क्लबले नै आन्तरिक सुरक्षा मिलाउनुपर्ने हुन्छ। एलओडीले सेभेन स्टार सेक्युरिटी सर्भिसबाट बाउन्सर लिएको छ। एलओडीले एक महिनामा २५ देखि ३० लाख रुपैयाँ बाउन्सरको लागि नै खर्च गर्ने गरेको सिइओ श्रेष्ठले बताए।

क्लबले सुरक्षाको लागि बाउन्सरमात्र होइन प्रत्येक ठाउँमा सिसिटिभीसमेत राखेको हुन्छ। जसबाट क्लबको निगरानी राखिने गरेको क्लबका सञ्चालकहरूको दाबी रहेको छ। क्लबमा कुनै घटना भएको खण्डमा त्यहाँ रहेका बाउन्सर गएर मिलाउने गर्छन्।

'कसैले क्लबभित्र झगडा गर्‍यो भने ३० जनामध्ये १०/१५ जना गएर त्यहाँ घटना कभर गर्छन्। त्यसपछि उनीहरूलाई क्लबबाट निकाल्ने वा अन्य कदम चाल्ने गरिन्छ,' सोल्टी होटेलको प्राइभका एडभाइजर मचिन शाक्यले भने।

प्रहरीको निरगारानीमा रात्रिकालीन व्यवसाय

एउटा नाइट क्लबमा २० देखि ४० जनासम्म बाउन्सर राखिएको हुन्छ। औसत रुपमा १० देखि २० लाख रुपैयाँ बाउन्सरको लागि खर्च हुने गरेको श्रेष्ठले बताए। त्यसो त नाइट क्लब नहुने रेस्टुरेन्ट तथा बारहरूमा पनि सुरक्षा गार्ड भने राखिएको हुन्छ। तर त्यस्तामा बाउन्सर भने हुँदैन।

युवा पुस्ताको अर्को रोजाइमा परेको त्रिसरा रेस्टुरेन्ट पनि हो। यो रेस्टुरेन्ट राति ११ बजेपछि बन्द हुने र नाइट क्लब नभएकाले बाउन्सर राखिएको छैन। तर ग्राहकको सुरक्षाको लागि भने प्रहरीसँग सम्पर्क रहिरहने गरेको त्रिसराका सञ्चालक शोभन मालाकार बताउँछन्। त्रिसरामा पूर्व राजपरिवारका सदस्यसमेत बेलाबेला पुगिरहेका हुन्छन्। जतिखेर पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी र त्यही क्षेत्रमा खटिने लोकल प्रहरीले पनि सुरक्षा दिएको हुन्छ।

'हामीले प्रत्येक कर्नरमा सिसिटिभी राखेका छौँ। त्यहीबाट हामी निगरानी गरिरहेका छौँ,' सञ्चालक मालाकारले भने।

गत फागुनमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समय सीमा हटाएको थियो। रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाणले १४ सदस्यीय समिति बनाएका थिए। समितिले दिएको सुझावका आधारमा व्यवसाय खुला गरिएको हो। समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर चौबिसै घण्टा व्यवसाय खोल्न दिने सुझाव दिएको थियो।

रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेष्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ लगायतका सेवामूलक व्यवसाय पर्छन्। यस्ता व्यवसाय रातभर सञ्चालनमा आउँदा प्रहरीलाई थप सुरक्षा चुनौती थपिएको छ। रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा त्यहाँ हुने झैझगडादेखि अन्य अपराधका गतिविधिले प्रहरीलाई चुनौती थप्ने निश्चित छ। अहिले देशभर भइरहेको प्रहरी जनशक्तिले रात्रिकालीन व्यवसाय सञ्चालन भएपछि थेग्न नसक्ने प्रहरी अधिकृतहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell